जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १ सय ३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए ।

‘७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,’ उनले भने ‘थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नापजाँचको काम पनि सुरु भएको छ ।’

१२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ ।

रघुगंगा गाउँपालिका वडा नम्बर ३, बेनी नगरपालिका वडा नम्बर ९, १०, मंगला गाउँपालिका वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ ।

डाडाँखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए । उनका अनुसार डाडाँखेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ ।

राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भइरहेको छ । सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रोसँग २६ मिलियन डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

Leave a Reply