म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचार सम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।

नगरप्रमुख सुरत केसीले स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासहितको विवरण संकलन थालेका जानकारी दिए । ‘ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार गर्न कार्यक्रम कार्यान्वयन गरेका हौँ’, केसीले भने ।

बेनी बजारभित्र पर्ने वडा नं ७ र ८ का बासिन्दाले जिल्ला अस्पतालबाट सेवा लिने गरेका छन् । वडा नं ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ । ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत संकलन गरिसक्ने नगरप्रमुख केसीले बताए ।

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण संकलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिनेछन् । स्वास्थ्यकर्मी घरदैलोमा गएको पहिलो दिनमै लुकेका स्वास्थ्य समस्या पहिचान भएको छ ।

वडा नम्बर ५ पुलाचौरमा दुर्घटनामा परेर घाइते भएकी एक वृद्धाको खुट्टामा राखिएको स्टिल नझिकिएका कारण घाउ परेको अवस्थामा भेट्टाएका छन् । ती वृद्धालाई पोखरामा थप उपचारको व्यवस्था मिलाइने नगरप्रमुख केसीले बताए । ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि बेनी नगरपालिकाले १२ लाख विनियोजन गरेको छ ।

Leave a Reply