मुस्ताङको मुक्तिनाथ विकास समितिको कोषमा ६ करोड ९१ लाख आर्थिक मौज्याद रहेको छ । जसमध्य, बैंकमा जम्मा भएको ६ करोड ७२ लाख ७६ हजार, सटही नभएको ११ लाख ४९ हजार र बैंकमा जम्मा भएको ब्याज जोडेर समितिको कोषमा उक्त रकम मौज्याद रहेको हो ।

मुक्तिनाथ विकास कोष अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा नगदी रसिद काटेकोबाट १ करोड ३ लाख २९ हजार रकम जम्मा भएको थियो । यस्तै,गत आर्थिक वर्षको चैत्र ७ गते मुक्तिनाथ विकास समितिको दानपेटीका गणना हुँदा १० लाख ८४ हजार जम्मा भएको थियो भने असारको ६ गते दान पेटिकाको भेटी गणना हुँदा ७ लाख ५३ हजार ७ सय नेपाली रुपैया र ६ लाख ३५ हजार भारतीय रुपैया गरी १७ लाख ६९ हजार रकम दान पेटिकामा संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव हरि भुजेलले जानकारी दिए ।

मुक्तिनाथ मन्दिरमा भक्तजनले नगद रसिद काँटेर दान गरेको र त्यहा राखिएको भेटी बाकसमा दान गरेको रकम मुक्तिनाथ विकास समितिको कोषमा जम्मा हुन्छ । २०६४ साल सालको सेरोफेरामा प्रजिअको अध्यक्षतामा मुक्तिनाथ विकास समिति गठन गरिएको थियो । मुक्तिनाथ मन्दिरको विकास ,संरक्षण,व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग गराउने उद्देश्यले मुक्तिनाथ विकास समिति गठन गरिएको थियो । तर,समिति गठन भएको विगत ३ वर्ष अघिदेखिबाट मुक्तिनाथको आम्दानी र खर्च सार्वजनिकीरण गर्न थालिएको हो । मुक्तिनाथ रेखदेखका लागि स्थानीय बासिन्दा बेग्लै मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन भएको छ ।

२०७६ सालको मंसिरसम्म मुक्तिनाथ विकास समितिको कोषको रकम कुल ४ करोड २४ लाख २५ हजार रहेकोमा अहिले क्रमश वृद्धि हुँदै झन्डै डेढ करोड रकम थपिएको छ । मुक्तिनाथ विकास समितिले जिल्लाको ५ वटा बैंकमा खाता खोलेर मुक्तिनाथको भेटी जम्मा गरिरहेको समितिका सदस्य सचिव भुजेलले जानकारी दिए ।

पछिल्लो समय मुक्तिनाथ मन्दिरमा प्रमु बैंकले क्यूआर कोड सेवा संञ्चालन गरेपछि उक्त मन्दिरमा नगद कारोबार विस्थापित गर्दै चन्दा दातालाई सिधै डिजिटल भुक्तानी मार्फत बैंकको खातामा नगद जम्मा गर्न सहज भएको छ । मुक्तिनाथमा भक्तजनका लागि भेटी दान गर्न ५ वटा बाकस समेत राखिएको छ ।

मुक्तिनाथ मन्दिरमा एकजना पुजारीसहित ४ जना कर्मचारीको त्यहाँको व्यवस्थापनमा खटाईएको छ । कर्मचारीको लागि बर्सेनि ८ लाख १५ हजार खर्च हुने गरेको उनले बताए । प्रसिद्ध धार्मिक पर्यटकियस्थल मुक्तिनाथ मन्दिरमा स्वदेश तथा विदेशबाट धार्मिक पर्यटक पुग्ने गर्छन् ।

Leave a Reply