आज जनैपूर्णिमा तथा रक्षा बन्धन । तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ यो पर्व मनाउंदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा संगै रक्षाबन्धन विधिसाथ मनाउने परम्परा छ । सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयां जनै लगाउने यो पर्वको विशेष महत्व रहेको छ ।
आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बांध्ने र पूरानो जनैको सट्टा नयां जनै लगाउने श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायमा भने ‘क्वाँटी’ खाने चलन छ । हिन्दु धर्मग्रन्थमा लेखिए अनुसार, जनैमा रहने शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक मानिन्छ ।
हिन्दुको धार्मिक तथा सांस्कृतिक पर्व श्रावणी पूर्णिमाकै दिन महर्षि याज्ञवल्क्यले सूर्य बाट वेद प्राप्त गरेको विश्वासका साथ यस दिनलाई वेद जयन्तीको रुपमा समेत मनाउने गरिएको छ । तागाधारी जातिले कश्यप, अत्रि, भारद्वाज, गौतम, जम–दग्नि, विश्वामित्र र अरुन्धती सहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
जुन पर्व तथा परम्पराले अहिलेको पुस्तालाई अनुशासीत र संस्कमारयुक्त बन्न प्रेरीत गरिरहेको सर्वसाधारणहरु हंसराज जोशी, रविन्द्र नाथ भट्टराई बताउँछन् । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिले चोखोनितो गरी एक छाक खाने, बिहानै नित्यस्नान गरी, पवित्र जलले विधिपूर्वक मध्याह्न स्नान गरि अविच्छिन्न वंश परम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणलाई गुरु थापी जनै मन्त्रने काम गर्दछन् ।
वैदिक ग्रन्थअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात वेदोक्त–कर्म गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । जसको सम्वन्ध सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बांधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसंग जोडिएको हिन्दु धार्मिक ग्रन्थका अध्ययत्ता कुमार सापकोटा बताउँछन् ।
जनै पूर्णिमाका दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइंकुण्ड, सिन्धुपाल्चोकको पांच पोखरी, नुवाकोटको देवीघाट लगायतका धार्मिक क्षेत्रमा ठूलो मेला लाग्छ । यस दिन, तराई क्षेत्रमा दिदी बहिनीले आफना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ । यस्तै नेवार समुदायमा जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वांटी खाने चलन छ ।
खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ । जसको बैज्ञानीक महत्व समेत जोडीएको छ ।