जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा जनैपूर्णिमाको दिन भक्तजनको भिड लागेको छ । जिल्लाको सदरमुकाम बेनीका देखि जिल्लाका सबै स्थानमा रहेका मठमन्दिरमा शुक्रबार विहानैदेखि भक्तजनको चाप लागेको थियो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थान, वडा नं ८ नाँगी बराही र रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार मन्दिरमा थामिनसक्नु भिड रहेको थियो । जनैपूर्णिमाको दिनमा अनुकुल मौसमकै कारण पूजाआजामा सहज भएको भक्तजनले बताएका छन् ।

खयरभारानी समुन्द्री सतहदेखि ४ हजार ६ सय ३० मिटर उचाईमा अवस्थित छ भने हिन्दूको धार्मिक ग्रन्थ श्रीमद्भागवतका अनुसार सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा ४ हजार ६ सय मिटर उचाईमा छ । ऋखारमा तलाउ माथि डुङ्गा आकारको ढुंगामा मन्दिर रहेको छ ।

यहाँ कहिल्यै नसुक्ने पानी रहनु थप आकर्षण हो । दुबै मन्दिरमा पुग्न सदरमुकाम बेनीबाट तीनदिन अगाडी नै यात्रा गर्ने गरिएको छ । खयरभारानी ताल म्याग्दीकै अग्लो स्थानमा रहेको तालको रुपमा चिनिन्छ । सडक सञ्जाल छोडेर दुबै मन्दिरमा करिब दुई दिन पैदलयात्रा नै गर्नुपर्छ ।

पर्यटकीय दृष्टिकोणमा समेत महत्वपूर्ण स्थल भएकाले हरेक बर्ष यि क्षेत्रमा पुजापाठ संगै भम्रणको लागि समेत जानेहरुको संख्या बढेको छ । पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनहरुले मन्दिरमा चिच्चाएर माग्नुपर्छ ।

नाँगीको मन्दिर परिसरमा एकएक गरी पालैपालो पुग्ने भक्तजनले आफूले चाहेको कुरा भन्ने र मगर समुदायको पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ । तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन् ।

तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर हिलो दिने चलन रहेको छ । स्थानीय तहले समेत मन्दिरमा भक्तजनलाई लक्षित गरी बजेट बिनियोजन गरेको छ भने स्वदेश तथा विदेशमा रहेका भक्तजनहरुले समेत आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ मन्दिर तथा आसपासका क्षेत्रमा लाखौं खर्चिएर संरचना बनाइरहेका छन् ।

Leave a Reply