म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवतजावत बन्द गरिएको थियो ।  मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि शुक्रबारदेखि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिए ।

२५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाले ३७ थान र मालिका गाउँपालिकाले २५ थान ग्यावीन जाली भरेका छन् । गाउँपालिकाले मजदुर परिचालन गरेर ६२ थान ग्यावीयनमा ढुङ्गा भरेर सडक मर्मत गरेको हो । पुलको मालिकातर्फको पिल्लरभन्दा गहिरो गरेर खोला बग्नुका साथै पहुँचमार्ग साँघुरिएर सवारी साधन आवतजावत बन्द भएको थियो । पुल मर्मत र सञ्चालन भएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।

बेनी–दरवाङ मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले विसं २०७६ मा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजार आठ सय २३ को लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखु खोलाको पुलको बारेमा मन्त्रालयबाट आएको विज्ञ टोलीले अध्ययन गरेको बताए ।

 

Leave a Reply