नेवार जाति कला संस्कृतिको धनी जाति मानिन्छ । जहाँ नेवार जातिको बस्ति छ त्यहाँ विभिन्न परम्परागत संस्कृतिहरुको अवलोकन गर्न पाइन्छ । यस्तै नेवार जातिको पुरानो बस्तीको रुपमा म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार पनि एक हो।

यहाँ पुस्तौदेखि गठे मंगल, लाखे नाँच, घोडा नाँच, जोगी नाँच, गोरु नाँच, रोपाई नाँच, भोटे नाँच, शिकारी नाँच, नागानागिनी, सापारु र हनुमान नाँच लगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउछ । वर्खाको रोपाई सकिए पछि घण्टाकर्णदेखि सुरु हुने नाँचहरु हेर्न वरपरबाट मानिसहरु बजार झरि बजार व्यवसाय बृद्दी गर्ने, प्रतिभाको प्रस्फुटन गर्ने मात्र होईन ऐेतिहासिक र धार्मिक महत्व पनि बोकेको विश्वास गरिन्छ ।

तैपनि शिकारी नाँच लोप भै सकेको छ । भोटे नाँच लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकिको रुपमा मात्र देख्न पाईने र आजकल औपचारिकरुपमा प्रदर्शन नभएको हनुमान नाँच तालिम भएपनि कोरोनाको कारण स्थगित भएको थियो । यसअघि सञ्चालन भएको हनुमान नाँचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक संकलन गरि भवन र मन्दिर स्थापना गरेको थियोे ।

यस वर्ष गठेमंगल (लुतो फाल्ने ), लाखे नाँच र घोडे नाँच प्रदर्शन गरि सापारुको पहिलो दिन बजार परिक्रमा सम्पन्न भएको छ । भिन्नभिन्न सांस्कृतिक महत्व बोकेको नाँचहरु मध्ये सापारुलाई विशेष महत्वको रुपमा लिईन्छ । विशेषगरी ऋषि तर्पणी (रक्षा बन्धन) र गाईजात्रा गरि दुई दिन लगाएर एक वर्ष भित्र स्वर्गारोहण भएका मृतकको सम्झनामा टया मचा (अग्लो मान्छे ) बनाएर बजार परिक्रमा गरिन्छ । यसो गर्दा मृतकको स्वर्गमा बास हुन्छ भन्ने लोक विश्वास रहि आएको छ ।

नेवार समुदाय मात्र होईन सम्पुर्ण बजारवासि सहित आफन्तजन उपस्थित भएर नागानागिनी नाँच सहित नेवारी गित गाएर पहिलो दिन श्री लक्ष्मी नारायण मन्दिरबाट निकाली बजार परिक्रमा गरि भोलीपल्ट मृतकको घरमा भित्राउने परम्परा रहेको छ । तीजमा श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाँचको विधिवत समापन हुन्छ । श्रीकृष्ण भगवान र लाखेको लडाई हेर्न ठूलो भीड जम्मा हुने गर्छ ।

“अग्रजहरुले धानेको परम्परा मंकाः खलः को संस्थागत विकास पछि व्यवस्थित गर्ने प्रयास गरिएकोछ । वर्खे नाँचहरु नेवार समुदायको मात्र नभई म्याग्दीकै सम्पत्ति हो । यसबाट सबै जातजाति संलग्न हुने र प्रतिभा उजागर गर्ने अवसर जुटेको छ । “ जानकारी दिदै नेपाल भाषा मंकाः खलःका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ थप्नुहुन्छ – “लोप हुन लागेको नाँचहरु पुनर्जीवित गर्ने प्रयासमा छौ ।

जस्को लागि स्थानीय तह सरकार, युवा पुस्ता र सबै बजारबासिको सहयोगको खाँचो छ ।“खलःले विगतमा भक्तपुरबाट मुल नेवारी गुरु ल्याएर सामुहिक बेल विवाह र ब्रतबन्ध सम्पन्न गरेको थियोे । त्यस्तै नेवारी भाषा कक्षा, धिमे बाजा र बासुरीको प्रशिक्षण एवम् अग्रज कलाकारद्वय प्रकाशकुकार श्रेष्ठ र सञ्जयकुमार श्रेष्ठको प्रशिक्षकत्मा हार्माेनियम र मृदंगा तालिम सम्पन्न गरेको थियोे ।

“पुस्ता हस्तान्तरणको महसुस गरिएको छ ।“ लामो समय वर्खे नाँच संरक्षणमा योगदान पु¥याएका खलः सांस्कृतिक उपसमिमतिका संयोजक सञ्जयकुमार श्रेष्ठ थप्नु हुन्छ – “नाँच्ने , गाउने र बजाउनेमा पुरानै पुस्तामा भरपर्नु पर्ने बाध्यतालाई कम गर्न यस वर्ष युवा पुस्तालाई अघि सार्ने र अवसर दिने प्रयास गरिएको छ, जस्ले आगामी पुस्तामा पनि यी नाँचहरु संरक्षित हुदै जीवन्त रहने विश्वास लिएका छौं ।“ विगतमा सक्रिय भुमिका निभाएको युवा संस्था ल्ह्याम पुचः अग्रजको साथले हौसला लिदै नियमित तालिम संञ्चालन गरि नयाँ प्रतिभा जन्माउन लागि परेको छ । यसको लागि खलः को नयाँ भवन निर्माणले पनि साथ दिएको छ ।

विगतमा संलग्न युवाहरु परिपक्क हुदै आएकाछन् भने उमेरले तेह्र वर्ष ननाघेका र पढाइमा आठ कक्षा भन्दामुनिका अफ्रिम, विकल्प, अनुप, सालिन, हिमांसु जस्ता बालकलाकारहरु पहिचान हुनु र निर्धक्क लाखे नाच्ने, मृदंगा, ढलकी, झ्याली, खैचडी, मादल बजाउनु र मौनता श्रेष्ठले नागानागीनीमा हार्माेनियम बजाउनाले यिनीहरुले लामो समय कला संस्कृति धान्ने चर्चा समुदायमा चलेकोछ ।

विगतका वर्षहरुमा यस्ता बाल प्रतिभाहरुले छुट्टै सानो लाखे नचाउने प्रचलन थियो । यस अघि सानै उमेरमा अभिनेष, अभिषेक, अनुपम लगायतले लाखे त्यस्तै सोहन, हिक्मत, रुविन, जेनेश, अभिनेष, प्रशान्त र प्रमेशले नागानागीनीमा प्रतिभा प्रस्तुत गरेका थिए । सृष्टि लगायतका प्रतिभाले श्रीकृष्ण जन्माष्टमीमा बजारभरि भजन नृत्य प्रदर्शन गरेका थिए ।

रोपाई, जोगी र भोटे नाँचहरुमा बाल कलाकारहरु संलग्न हुने गरेपनि पहिले बाल पुस्ता वाद्यवादनको पहुँच भन्दा टाढा रहेका, छुन जाँदा पनि गाली खाईने डर रहेकोमा अहिले प्रोत्साहन दिदै सहभागी गराउने पर्ने र अधिकांश युवा पुस्ता विदेश पलायन भएको अवस्थामा नियमित संलग्नता अति आवश्यक देखिन्छ ।“शैक्षिक, धार्मिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा उल्लेख योगदान पु¥याएका व्यक्तिहरुको लिपिबद्द गरि पुस्तक प्रकाशन गर्ने तयारीमा छौं ।

“ लेखन क्षेत्रमा कलम चलाउदै आएका र गितसंगित क्षेत्रमा समेत योगदान पु¥याएका कलाकार अजयमिलन श्रेष्ठ थप्नु हुन्छ – “यसको लागि बेनी नगरपालिका वडा नम्बर सातले समेत सहयोग गर्ने छ ।“परम्परागत संकृति एकतामा बाध्न, भाईचारा र बन्धुत्वको भावना विकसित गर्न, प्रतिभा प्रस्फुटन गर्न, व्यापार व्यवसाय प्रवद्र्धन गर्न सहयोगी बनेको छ ।

वर्खे नाँचका अग्रज मानिने कलाकार स्वर्गीय सुर्यनारायण श्रेष्ठको स्मृतिमा स्थापित सुर्यनारायण पुरस्कार संस्थाबाट वर्खे नाँचमा योगदान पु¥याएका व्यक्तित्वहरु भैरबहादुर श्रेष्ठ, टीकाबहादुर श्रेष्ठ, रत्नप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद श्रेष्ठ, अंगद श्रेष्ठ, प्रकाशकुमार श्रेष्ठ लगायत कलाकारहरु पुरस्कृत हुनाले पनि वर्खे नाँच ओझिलो रहेको भान हुन्छ । जेहोस् जिल्लाबासीको साथ, मंकाः खलः, मैजु खलः र ल्याह्म पुचःको सक्रियता, आठ वर्षदेखि असी वर्षसम्मका कलाकारहरुको जोस र जाँगरले पक्कै पनि लोप हुन लागेको नाँचहरु समेत पुर्जीवित हुदै पुस्तौसम्म संरक्षित हुनेमा दुई मत छैन ।

Leave a Reply