म्याग्दीलाई पर्यटनको हब बनाउने पछिल्लो समय निकै चर्चा बटुलेको पर्यटकीयस्थल लभ्लीहिलमा हाईल्याण्ड एडभेन्चर पार्क निर्माणका लागि आवश्यक पहल सुरू भएको छ ।

हाईल्याण्ड एडभेन्चर पार्क निर्माण कम्पनीमार्फत लभ्लीहिल तथा आसपासका क्षेत्रलाई केन्द्रित गरी ट्रली, रिवर्स बन्जी, अम्यूजिङ्ग पार्क, माउन्टेन क्लाईविङ्ग हील कोष्टर, जिपलाईन कोष्टर, टावर बन्जी लगायतका साहसिक खेलको सम्भावनालाई मध्यनजर गरी सम्भाब्यता अध्ययनको काम भइरहेको छ ।

जिल्ला भित्रने पर्यटकको बसाई लब्याउने गन्तव्य खोजी र लगानी वातावरण सिर्जना गर्ने उद्देश्यले सुरु भएको कम्पनीका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।  ‘उक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौ,‘सम्बन्धित निकायमा आवश्यक अनुमतिका लागि पठाइएको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । कम्पनीले प्रस्ताव गरेका सहासिक खेलहरुका लागि प्रतिनिधि ओस्कार श्रेष्ठ र प्रशान्त श्रेष्ठको टोली भारतका विभिन्न स्थानमा पुगेर अध्ययन गरी फर्किएको छ ।

उक्त टोलीले भारतीय सहासिक खेलका प्रतिनिधिहरुसँग समेत भेटेर फिल्डमा अध्ययन गर्ने सम्झौता समेत गरेको छ। लभ्लीहिल, खवरा तथा आसपासका क्षेत्रमा सहासिक खेलका लागि उपयुक्त भएमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणको काम अगाडी बढ्ने कम्पनीले जनाएको छ ।

यस विषयमा गत साउन १२ गते म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा जनप्रतिनिधि, उद्योगी, ब्यापारी लगायतको उपस्थितमा शाहसिक पर्यटन विकासको सम्भावनाको विषयमा छलफल भएको थियो । कम्पनीले वडा नं २, डिभिजन बन कार्यालय, बेनी नगरपालिकालाई सम्भाब्यता अध्ययनमा आवश्यक सहयोगका लागि पत्र पठाएको छ । यी सम्भावनालाई हेर्दै पब्लिक कम्पनीमार्फत अगाडि बढ्ने बताइएको छ ।

कम्पनीका अध्यक्ष श्रेष्ठले करिब एकदशक अगाडी परिकल्पना गरेको बेनी नगरपालिका वडा नं ५ मा अवस्थित धार्मिकस्थल पौलस्य पुलहआश्रममा हाल राज्यको लगानीबाटै रावणपार्क बनेको छ । छिमेकी जिल्ला पर्वत र बागलुङ्ग साहासिक खेलका लागि नेपालमै प्रख्यात छ ।

म्याग्दीमा हालसम्म सहासिक पर्यटनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रोक्न सक्ने पूर्वाधारमा निजी क्षेत्रले बेवास्ता गरेको अवस्थामा पर्यटकको आगमनमा समेत धक्का लागेको छ। जिल्लामा हिमाल आरोहण, हिमश्रृंखलाको दृष्यअवलोकन, तातोपानी कुण्डमा स्नान र मुस्ताङ जाने पर्यटकले मात्रै पर्यटन क्षेत्र धानेको छ ।

Leave a Reply