म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारस्थित श्री कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्र ज्येष्ठ नागरिकहरूको मन बिसाउने चौतारीका रुपमा स्थापित भएको छ। हरेक दिन मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म खुल्ने केन्द्रमा बेनी क्षेत्रका ज्येष्ठ नागरिकका साथै युवा पनि सहभागी हुन्छन्।

केन्द्रमा बसेर उनीहरू जीवनका सुख र दुःख बाँड्छन्। भजनकिर्तन गर्छन्।  ‘ज्येष्ठ नागरिकहरू त्यत्तिकै घरमा धुम्धुम्ती बस्नु नपरोस्, उनीहरू आपसमा भेला भएर आफ्नो मन बिसाउन पाउन् भनेर हामीले केन्द्र खोलेका हौं,’  केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ भन्छन्। यसरी उनीहरूलाई समय कटाउन सजिलो भएको छ। केन्द्रमा दिनमा ३० जनासम्म जम्मा हुन्छन् जहाँ दिउँसो ३ बजे खाजा पनि खुवाइन्छ।

केन्द्रले बेलाबेलामा विशेष कार्यक्रम पनि गर्छ। जस्तो कि गएको असार १५ को दहिच्यूरा खुवाउने कार्यक्रममा १५० जना र साउन १५ गते खिर खाने कार्यक्रममा करिब २०० जना सहभागी बनेका थिए। विशेष कार्यक्रमहरूमा बेनी नगरपालिका र वडा नं ६, ७ र ८, सामाजिक विकास कार्यालहरूले सहयोग गर्दै आएका छन्।

वि.सं. २०७६ साल जेठबाट केन्द्र शुभारम्भ गरिएको हो। सुरुमा स्थानीय शिवालयको भवन भाडामा लिएर केन्द्र चलाइएको थियो। बेनी नगरपालिकाले वि.सं. २०७७ सालमा भवन बनाइदियो। हाल त्यही भवनमा केन्द्र सञ्चालित छ।

सुरुका दिनमा केन्द्रले बेलाबेलामा कार्यक्रम आयोजना गथ्र्यो। वि.सं. २०७८ मंसिरदेखि निरन्तर दिवा सेवा सञ्चालन गर्दै आएको छ। केन्द्रमा एक जना सहयोगी कर्मचारी राखिएको छ।

यहाँ शनिबार बढी सदस्य सहभागी बन्छन्। ‘अहिले भजन किर्तन मात्र गरिरहेका छौं’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘भबिश्यमा हामी हरेक दिन फरकफरक कार्यक्रम गर्नेछौं।’

केन्द्रका आजिवन सदस्यहरूबाट प्राप्त सदस्यता शुल्क १३ लाख रुपैयाँ बैंकमा जम्मा गरिएको छ। त्यसको व्याजबाट विभिन्न कार्यक्रम गरिन्छ। हाल १ सय ३४ जना आजिवन सदस्य बनिसकेका छन्। सदस्यता लिन ६ हजार रुपैयाँ बुझाउनु पर्छ।

दैनिक खाजाका लागि चाहिने रकम भने विभिन्न मनकारीहरूले सहयोग गर्दै आएका छन्। ‘ज्येष्ठ नागरिकहरू हाम्रो प्रेरणा श्रोत हुनुहुन्छ्’ बेनी बजारका समाजसेवी राजेश शाक्य भन्छन्, ‘उहाँहरूको सम्मानमा केन्द्रले गरेका काम प्रशंसनिय छन्।’ केन्द्रको भवन साँघुरो भएको अनुभव भैसकेको छ। भबिश्यमा ठूलो भवन बनाउने योजना सुनाउँछन् केन्द्रका अध्यक्ष श्रेष्ठ।  सेतोपाटी अनलाइनबाट साभार

Leave a Reply