---Advertisement---

नाङ्गी बाराहनीको दर्शन गर्न आउने भक्तजनहरु बढे

On: August 15, 2022 9:17 PM
Follow Us:

जङ्गलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बराहनी माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी । छेउमै बसेका मगर पुजारीले भक्तजनको कुरा सुनेपछि चिच्याउँदै भन्छन्, ‘फलानो व्यक्तिले चाहेको मनोकामना पूरा गराइदेऊ नाङ्गी बराहनी माता ।’ त्यसपछि मगर समुदायका पुजारीले तलाउमा चुर्लुम्म डुबेर भक्तजनलाई हिलो दिए भक्तजन नबोली हिलो प्लाष्टिकमा राखेर एक किलोमिटर टाढा पुगे ।

उक्त दृश्य हो म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ मा अवस्थित नाङ्गी बराही मन्दिर परिसरको । भक्तजनले मागेको बर पूरा गर्ने मनोकाङ्क्षाका साथ उक्त मन्दिरमा बर्सेनि पुग्ने भक्तजनको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

वर्षमा एकपटक श्रावण शुक्लपक्ष जनैपूर्णिमाका दिनमात्रै विशेष पूजाआजा हुने नाङ्गी बराहनी माताको पछिल्लो समय भक्तजनको ओइरो नै लाग्ने गरेको छ । कतिपयले बर माग्ने र कति मागेको बर पूरा भएपछि बर फिर्ता गर्न त्यस स्थानमा जनैपूर्णिमाका दिन पुग्ने गरेका छन् ।

तालको हिलो समातेर भक्तजनपछि नफर्किकन घर फर्कने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन् । तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुर्लुम्म डुबेर हिलो दिने चलन रहेको छ । पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनले मन्दिरमा बर माग्ने चलन रहेको स्थानीय रमन पुनले जानकारी दिए।

‘प्रकृति पूजा गर्नेको समुदायले परम्पराकालदेखि नै पूजाआजा गर्दै आएको नाङ्गी बराहनी माताको महिमा बढ्दै गएको थियो, प्रचारप्रसार र सडक सञ्जालको पहुँचका कारण अहिले विभिन्न स्थानबाट भक्तजन यहाँ बर माग्न आउने गरेको र बर मागेका अधिकांशले आफूले चाहेको बर पूरा गरेको भन्दै आफ्नो क्षमताअनुसार बोका, परेवा र नरिवल लिएर बलि दिन आउने चलन छ’, पुनले भने ।

आफूले चाहेको पूरा गर्ने विश्वासका साथ नाङ्गी बराहनी माताको दर्शन गर्न आएको पर्वतस्थित जलजला गाउँपालिका –४ का विशाल पुनले बताए । अन्नपूर्ण गाउँपालिका –८ का वडाध्यक्ष खमबहादुर गर्बुजा पुनले स्थानीय जनताको सक्रियतामा नै नाङ्गी बराहनी माताको प्रचारप्रसार तथा पूर्वाधार निर्माण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा वडाले समेत सक्दो सहयोग गर्ने बताए। उक्त गाउँ राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा परिकल्पनाकार महावीर पुनको गाउँ भएकाले प्रचारप्रसारमा सहयोग पुगेको स्थानीयको भनाइ छ ।

मन्दिर र मन्दिर नजिकैको प्राकृतिक तालका कारण मन्दिर प्रसिद्ध भएको हो । मगर पुजारी रहेको नाङ्गी बराहनी माता मन्दिरमा बोका, परेवा, नरिवल मात्रै चढ्ने गरेको छ । उक्त बर लिएपछि पछाडिसमेत नफर्किकन तालदेखि तल ढोकाद्वारे देवताको थानसम्म झर्नुपर्ने परम्परा रहेको छ ।

आफ्नो मनकामना पूरा भएपछि पुनःवर्ष दिनमा उक्त मन्दिरमा दर्शन गर्न जानेको सङ्ख्या पनि अत्यधिक बढेको छ । जनैपूर्णिमामा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, गोरखा, नवलपुर र चितवनलगायतका जिल्लाबाट श्रद्धालु भक्तजन नाङ्गी बराहनी माताको मन्दिर दर्शन र पूजाआजा गर्न आउने गरेका छन् । मनोकामना पूरा हुनेहुँदा नाङ्गी बराहनी माताको दर्शन गर्न र उनीसमक्ष वर माग्न आउने गरेको भक्तजन बताउँछन् ।

सोही गाउँपालिकाकै वडा नं ५ शिख पाउद्वारस्थित खयरबराह मन्दिरमा समेत मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छाअनुसार माग्ने गरेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पूजा हुन्छ । म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन पुगेका छन् ।