म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा आज अन्तिम (सोमबार) सबैभन्दा धेरै श्रद्धालु, भक्तजनहरुले दर्शन गरेका छन् । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको अन्तिम सोमबार पनि म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले बिहानैदेखि पुजाअर्चना गरेका हुन् ।

यसवर्ष साउन महिनामा पाँचवटा सोमबार परेकोमा गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौं र बझाङ जिल्लाबाट भक्तजनहरु दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबारहरुमा गलेश्वर शिवालयमा भक्तजनहरुलाई लक्षित गरेर विभिन्न १९ वटा उपसमितिहरु गठन गरी उनीहरुलाई सहज रुपमा पुजाअर्चना गर्ने व्यवस्थापन मिलाइएको थियो । अन्तिम सोमबार विगतका चारवटा सोमबारमा भन्दापनि सबैभन्दा धेरै भक्तजनहरुले मन्दिरको दर्शन तथा पुजाअर्चना गरेका थिए ।

पाँचवटा सोमबार पर्नुका साथै गएको दुईवर्ष कोरोनाको कारणले पुजाअर्चना गर्न नपाएका भक्तजनहरुले यसवर्ष गलेश्वर पुगेर पुजा गरेका छन् । यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट ३० हजारभन्दा बढी भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । पछिल्लोपटक गलेश्वर क्षेत्रमा भक्तजनहरुलाई लक्षित गरेर विभिन्न धार्मिक पूर्वाधारहरु निर्माण गरिएपछि मन्दिरमा दर्शन तथा पुजाआजा गर्न आउने भक्तजनहरुको सङ्ख्यामा वृद्धि भएको छ । बेनीका महिला उद्यमी हिराँदेवी कँडेलले मनोकामनासहित परिवारमा सुख, शान्तिको कामना गर्दै गलेश्वरको दर्शन गरेको अनुभव सुनाउनुभयो ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, जेष्ठनागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ ।

साउने सोमबार हिन्दु महिलाहरूको लागि विशेष दिन मानिन्छ । यस दिन महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पुजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरहरुमा साउने सोमबारको दिन बिहानैदेखि खासगरी ब्रतालु महिलाको भीड लाग्ने गर्दछ । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिलाहरू बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिना र सोमबारलाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि मानिन्छ ।

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

 

Leave a Reply