‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन्।

बुधबार ‘फरासिला बाजेको निरसिलो कथास् रोगले छोएन, दुःखले छोडेन’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशनरप्रसारण भएपछि बिहीबार बिहान वडा कार्यालयले थापाको घरमा नै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि प्रदान गरेको छ।

स्वास्थ्यकर्मी खगराज निउरेले थापाको प्रेसर, धड्कन, तापक्रम, अक्सिजन आदिको जाँच गर्दै सबै अवस्था ठिक रहेको र आँखामा सामान्य इन्फेक्सन मात्र देखिएको बताए। स्वास्थ्य जाँचपछि थापाले आफ्ना लागि अभिभावक र सन्तान दुवै सरकार नै भएको जनाउँदै सरकारले घरघरमा नै पुगेर औषधि उपचार र ज्येष्ठ नागरिक सुरक्षाभत्ता दिन थालेपछि आफूलाई जिउन निकै सजिलो भएको जनाए।

देशविदेशमा रहेका उनका आफन्तहरुले पनि उनलाई कुनै कुराको कमी हुन नदिने र आवश्यक चिज उपलब्ध गराउने बताएका छन्। बिहीबार बिहान पत्रकार र स्वास्थ्यकर्मी थापाको घरमा पुग्दा थापाका दाइका छोरा दुर्गाबहादुर थापाले उनलाई आफ्नो घरमा आफैँसँग बस्न आग्रह गरेका थिए।

श्रीमती खिरकुमारीसँग दाजुभाइको सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पतीलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन्। दाजुभाइका छोराहरुले समयसमयमा आवश्यक सोधपुछ गर्ने र परिआएको खण्डमा हेरविचार गर्ने गर्दछन्।

सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न)। आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीका सन्तान विवाह भएर गएकी एकमात्र छोरी छन्, ती पनि नबोल्ने (अपाङ्ता भएकी) छन्। बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हीराबहादुरले हेर्ने गर्छन् ।

बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षाभत्ताबाट नै आफ्नो आवश्यक चिज जुटाउँदै आएका छन्।

“खान र लगाउनका लागि सरकारले पैसा दिन्छ, बिरामी पर्दा घरमा नै आएर उपचार गरिदिन थाल्यो, सरकारलाई धेरै धन्यवाद छ”, थापाले भने। ज्येष्ठ नागरिक समाजका सम्पत्ति भएका र उनीहरुको ज्ञान, अनुभव र जीवन भोगाइका घटनाले अहिलेको पुस्ता र भावी सन्ततिलाई मार्गनिर्देश गर्ने भएकाले ससम्मान आवश्यक सहयोग गर्ने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

बेनी नगरपालिकाले मङ्गलबारदेखि ७० वर्षभन्दामाथिका ज्येष्ट नागरिकको घरमा नै पुगेर स्वास्थ्य जाँच गराउने अभियान सुरु गरेपछि थापा जस्तै कैयौँ ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न पाएका छन्। विशेषगरी नसर्ने र नदेखिने रोगबाट ग्रस्त ज्येष्ठ नागरिकलाई यो अभियानले फाइदा पुग्ने स्वास्थ्यकर्मीको भनाइ छ। रासस

Leave a Reply