म्याग्दीमा मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु भएको छ । गुन पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मंगलबार बेनीमा बिमोचन गर्नुभयो ।

मालिका प्रेस सहित हाल म्याग्दीबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाको संख्या छ र दैनिक तीन वटा पुगेका छन् । यसअघि रिखार, रुप्से, म्याग्दी प्रेस दैनिक, नवविकल्प, सम्बृद्ध, बेनी साप्ताहिक , म्याग्दी सञ्चार र बुलबुल साप्ताहिक पत्रिका प्रकाशन हुदै आएका थिए । बिमोचनका क्रममा जिसस प्रमुख थापाले सूचना प्रबिधिको विकाससँगै औपचारिक सूचनाहरु अनलाइन र सामाजिक सञ्जालबाट प्रवाह हुन थालेकाले पत्रपत्रिकाले खोजमुलक विषयबस्तुमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रिकाको फरक महत्व र विशेषता हुने भएकाले तथ्य र यथार्थपरक समाचार प्रकाशन गर्न सुझाव दिनुभयो । नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी), नेशनल मंगोल अर्गनाइजेशनका जिल्ला अध्यक्ष डिके पुन, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले पत्रिका प्रकाशनलाई निरन्तरताको शुभकामना दिनुभयो ।

प्रकाशक राम्जाली र प्रबन्धक निर्देशक धलीलाल गर्बुजाले ग्रामिण क्षेत्रका ओझेलमा परेका विषयबस्तुलाई प्राथमिकता दिएर पत्रिका प्रकाशन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन राकेश शर्माले गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाई समितिका सभापति लेखबहादुर पुनले ओझेलमा परेको पश्चिम म्याग्दीको सम्भावना र समस्याको उजागर गर्न पत्रिकाले भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।

Leave a Reply