फिफा विश्वकप २०२२ नोभेम्बर २० देखि शुरु हुने पक्का भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्रले खेल्ने परम्परा अनुसार फिफा काउन्सिलको ब्यूरोले सो निर्णय गरेको हो । नोभेम्बर २० मा आयोजक कतारले इक्वेडरसँग बेलुका ७ बजे खेल्नेछ ।

त्यस्तै २१ तारिख दिउँसो १ बजे हुने भनिएको सेनेगल र नेदरल्यान्डबीचको खेल सोही दिन बेलुका ७ बजेको लागि सारिएको छ । फिफाले यस निर्णयबारे सम्पूर्ण दर्शकलाई इमेलमार्फत पनि जानकारी दिने जनाएको छ । अन्य खेलहरु भने फेरबदल गरिएको छैन । प्रतियोगिताको फिनाले खेल डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन पारेर हुनेछ ।

विश्वकपकै बेलामा कतारले देशभरका मुख्य स्थानमा थुप्रै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरिसकेको छ । विश्वकपको समयमा पर्यटकको संख्यासमेत सीमित गरिने भएको छ । नोभेम्बर महिनाबाट प्रतियोगिताको अवधिभर लागू हुने गरी हय्या कार्ड भएका पर्यटकलाई मात्र कतार प्रवेश गर्न दिइने हय्या प्लेटफर्मका कार्यकारी निर्देशक साईद अल कुवेरीले बताएका छन् ।

कतारी नागरिक र आईडी भएका आप्रवासीलाई यो नियमबाट कुनै प्रभाव नपर्ने उनले बताएका छन् । त्यस्ता नागरिकले प्रतियोगिताभर जुनसुकै समयमा आवतजावत गर्न पाउनेछन् ।

भिसाकै रुपमा रहेको हय्या कार्ड बनाउन विश्वकपको टिकट हुन अनिवार्य छ । सो कार्ड भएका व्यक्तिले विश्वकपको बेला सार्वजनिक सवारी चढ्न पाउने व्यवस्था गरिएको छ । विश्वकपको विषय सम्बन्धित जिज्ञासा र समस्या परेमा कतारभित्रबाट सम्पर्क गर्न सकिने हटलाइन नम्बर ‘२०२२’ पनि शुरु भएको छ । हाल अरबी र अंग्रेजी भाषामा उपलब्ध सेवा अन्य भाषामा पनि विस्तार गरिने आयोजक समितिले जनाएको छ ।

Leave a Reply