म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुको आज (मङ्गलवार) अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा तातोपानीमा सञ्चालित पसलहरुको स्थलगत रुपमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्टुरेण्ट तथा किराना र खुद्रा पसल गरी कुल २५ वटाको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । तीमध्ये १४ वटा होटल तथा रेष्टुरेण्ट र ११ वटा विभिन्न किराना एवं खुद्रा पसलको अनुगमन गरिएको उक्त टोलीले जानकारी दिएको छ ।

अनुगमनमा अधिकांश होटलहरुले कानुनी मापदण्ड पुरा गरेको भए पनि केही होटलहरु भने कानुनी प्रक्रियामा आउन बाँकी रहेको पाइएको छ । यसैगरी किराना र खुद्रा पसलहरुमा भने म्याद गुज्रिएका धेरै खाद्य सामग्रीहरु भेटिएका छन् । अनुगमनका क्रममा किराना तथा खुद्रा पसलहरुमा साइनबोर्ड नटाँसेको, पसल दर्ता गरेको भए पनि लामो समयसम्म नवीकरण नगरेको, म्याद सकिएका र म्याद भएका सामानहरु एकै ठाउँमा राखेको जस्ता कमी कमजोरीहरु पाइएको छ ।

अनुगमन टोलीले म्याद सकिएका सामानहरु जफत गरी नष्ट गरिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कानुनी प्रक्रिया पुरा नगरेका होटल र पसललाई तुरुन्तै प्रक्रिया पुरा गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो ।

Leave a Reply