Central American migrants, part of a caravan trying to reach the U.S., cross the Suchiate River to avoid the border checkpoint in Ciudad Hidalgo, Mexico, October 20, 2018. REUTERS/Edgard Garrido - RC1B31221260

म्याग्दीका श्याम नेपाली (नाम परिवर्तन) २०७८ वैशाखको पहिलो साता अमेरिका जाने उद्देश्यले संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबई शहरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । उनी नेपालको विमानस्थलबाट भिजिट भिसाको प्रक्रिया पूरा गरेर दुबई गएका थिए तर उनको अन्तिम लक्ष्य अमेरिका पुग्नु थियो ।

गाउँघरका साथीभाइहरू अमेरिका पुगिसकेकाले उनलाई पनि अमेरिका जाने भूत चढेको थियो । त्यसैक्रममा उनी काठमाडौंमा रहेका १ जना दलालमार्फत उनैको सल्लाहमा दुबईको भिजिट भिसा लगाएका थिए । मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार उनले नेपालको एयरपोर्टमा भिजिट भिसाको प्रक्रिया पूरा गरेका थिए । उनले दुबई पुगेर मुख्य दलाललाई भेटे ।

उनीसँगै दुबईको एउटा कोठामा २०–२५ जना नेपालीहरू अमेरिका जानका लागि बसेका थिए । श्याम अमेरिका जानका लागि म्यादीको बेनीमा रहेको घरखेत बिक्री गर्ने र केही पैसा ऋण खोजेर ९० लाख रुपैयाँ बुझाउने शर्तमा गएका थिए ।

दुबईबाट उनको अमेरिका जाने यात्रा शुरू भयो । उनीहरू पहिला दक्षिण अफ्रिका गए । त्यहाँबाट विभिन्न १५ वटा देश पार गरेर मेक्सिकोको सिमानामा पुगे । उनीहरू अफ्रिकी प्रहरी, स्थानीय गुण्डा र स्थानीय दलाललाई पैसा बुझाउँदै मेक्सिकोसम्म पुगेका थिए ।

प्रहरीका अनुसार उनीहरू ३ महिनामा विभिन्न जंगल र शहरको यात्रा गर्दै मेक्सिकोसम्म पुगेका थिए । मेक्सिको पुग्नुभन्दा अगाडि एउटा डुंगामा गए । अमेरिकी सिमाना पुग्नुभन्दा अगाडि त्यो डुंगा पल्टाइयो । त्यसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफ्रिका लगायत देशका सयौं पुरुष र महिलाहरू सवार थिए ।

त्यो डुंगा पल्टिएपछि तैरिन सक्ने अर्थात् पौडिन सक्नेहरू अमेरिकी अध्यागमनको कार्यालयसम्म पुगे, नसक्नेहरू समुद्रमै हराए । त्यहाँ २०–२५ जना मात्रै बाँचेको बयान श्यामले मानव बेचबिखन ब्यूरोमा दिएका छन् । मेक्सिकोको सिमानासम्म मेक्सिकोमा भएका १ जना नेपाली दलालले पुर्‍याएका थिए । श्यामलाई अमेरिकी अध्यागमनले नेपाल फर्काइदियो ।

उनी २०७८ भदौ महिनाको अन्तिममा नेपाल फर्किएका थिए । ९० लाख डुबाएर फर्किएका उनलाई नेपाल आउने बित्तिकै दलालले समाइहाले, फेरि थप पैसा नलाग्ने भन्दै दुबई उडाए । फेरि पुरानै प्रक्रिया पूरा गरेर श्याम दोस्रोपटक माघ महिनाको पहिलो हप्ता अमेरिका छिरे । उनले त्यहाँ गएर काम गर्न थाले, ती व्यक्ति मानव बेचबिखन ब्यूरोको सम्पर्कमा थिए । उनले मेक्सिकोसम्म पुर्‍याउने दलालको विवरण प्रहरीलाई उपलब्ध गराएका थिए ।

प्रहरीले मानव बेचबिखनको जालो तोड्नका लागि श्यामकी श्रीमतीलाई जाहेरी दिन आग्रह गर्दा उनले जाहेरी दिन मानिनन्।‘हामीले मानव बेचबिखनमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न उहाँकी श्रीमतीलाई जाहेरी दिन भन्यौं तर उहाँले मान्नुभएन,’ ब्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्लले भने, ‘अहिले कमाउन लाग्नुभएको छ, जाहेरी दिएपछि तपाईंहरूले फेरि नेपाल ल्याउनुहुन्छ, ऋण कसरी तिर्ने भन्दै मान्नुभएन ।’ अमेरिका, युरोपलगायत देशमा गएर ठगिएकाले जाहेरी दिन नमान्दा कानूनी दायरामा ल्याउन नसकिएको मल्लले बताए । लोकान्तर डटकमबाट साभार 

 

 

Leave a Reply