म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको उपल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुको आज (बुधवार) पनि अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा तातोपानीमा सञ्चालित पसलहरुको स्थलगत रुपमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा तातोपानीको उपल्लो बजार क्षेत्रका होटल, रेष्टुरेण्ट तथा किराना र खुद्रा पसल गरी कुल २३ वटाको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । तीमध्ये ९ वटा होटल तथा रेष्टुरेण्ट र १४ वटा विभिन्न किराना एवं खुद्रा पसलको अनुगमन गरिएको उक्त टोलीले जानकारी दिएको छ ।

अनुगमनमा अधिकांश होटल तथा पसलहरुले कानुनी मापदण्ड पुरा गरेको भए पनि केही होटलहरु भने कानुनी प्रक्रियामा आउन बाँकी रहेको पाइएको छ । यसैगरी किराना र खुद्रा पसलहरुमा भने म्याद गुज्रिएका धेरै अखाद्य सामग्रीहरु भेटिएका छन् । त्यस्तै अनुगमनका क्रममा किराना तथा खुद्रा पसलहरुमा साइनबोर्ड नटाँसेको, पसल दर्ता गरेको भए पनि लामो समयसम्म नवीकरण नगरेको, म्याद सकिएका र म्याद भएका सामानहरु एकै ठाउँमा राखेको जस्ता कमी कमजोरीहरु पाइएको छ ।

अनुगमनको टोलीले १२ हजार रुपैयाँ बराबरको म्याद नाघेका चिसो पेयपदार्थ, बिस्कुट, बेसन, दुध पाउडर, फुरनदाना लगायतका दैनिक उपभोग्य सामानहरु जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो । उहाँले कानुनी प्रक्रिया पुरा नगरेका होटल र पसलहरुलाई तुरुन्तै प्रक्रिया पुरा गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, बेनी नगरपालिकालगायत कार्यालयहरुको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि मङ्गलवार पनि तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेण्ट र किराना पसलहरुमा अनुगमन गरिएको थियो ।

Leave a Reply