गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि म्याग्दीमा छनौट खेलको कार्यतालिका सार्वजनिक भएको छ । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार आर्चरीको छनौट भइसकेको छ भने अन्य खेलहरु भदौ १० गतेभित्र सम्पन्न गरिने समितिका सदस्य सविस चोखालले जानकारी दिनुभयो । खेलकुद विकास समितिले जारी गरेको कार्यतालिकामा कवड्डी भदौ ४ गते, मार्सल आर्ट भदौ ६ देखि १० गते, ब्याड्मेन्टिन भदौ ७ गते, एथलेटिक्स भदौ ८ गते, बास्केटबल भदौ ८ गते, फुटबल भदौ ९ गते, महिला भलिबल ९ र पुरुष भलिबल १० गते तोकिएको छ ।

‘यसअगाडीको कार्यतालिकाको समयअवधि छोटो भएको गुनासो आयो,‘हामी अब सबै निर्धारित समयभित्र छनौट गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ’ समितिका अध्यक्ष दिनेश केसीले भन्नुभयो । जिल्लाबाट छनौट भएका खेलाडीको प्रदेशमा समेत छनौट हुने र त्यहाँ छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने छ ।

Leave a Reply