म्याग्दीका भलिबल प्रशिक्षक एवम् खेलाडी तेजेन्द्र बानियाँ बागलुङमा सम्मानित हुनुभएको छ । नेपाली सेना श्री श्रीमेहर गण घोडाबांधे व्यारेक बागलुङले विहिवार एक कार्यक्रमको आयोजना गरी जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका बानियाँलाई सम्मान गरेको हो ।

गणको भलिबल टिमको प्रशिक्षकको रुपमा उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको भन्दै बानियाँलाई प्रमुख सेनानी गणपति देवभक्त माडी श्रेष्ठ र खेल समन्वय अधिकृत सेनानी अर्थ जंग बहादुर सिंहले सम्मान पत्र प्रदान गरी नगद सहित सम्मान गर्नुभएको हो । प्रशिक्षक बानियाँले श्रीमेहर गण घोडाबाँधे व्यारेकका आर्मी खेलाडीहरुलाई १ महिना सम्म भलिबल सम्वन्धी ज्ञान सिप र अनुशासन लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

बेनी नगरपालिका वडा नम्वर ९ घतान हाल गलेश्वर निवासी बानियाँले भारतको बैंगलोरबाट सन २०१९ मा भलिबल प्रशिक्षक कोर्ष पुरा गर्नुभएको छ । त्यस्तै उहाँले २०७५ सालमा राष्ट्रिय भलिबल रेफ्री रिफ्रेसर कोर्ष समेत लिनुभएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशद्वारा संचालित ३ महिने सहायक प्रशिक्षक कोर्ष पुरा गर्नुभएका बानियाँले अन्य विभिन्न तालिमहरुमा समेत सफलताका साथ सहभागी हुनुभएको छ ।

बानियाँले नेपाल भलिबल संघले आयोजना गरेको एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगीतमा ३ विदेशी अन्तराष्ट्रिय खेलाडी समेत रहेका राष्ट्रिय क्लव टिपटप हेल्प नेपाल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पुरा गरि उपविजेताको पुरस्कार हात पार्न सफल बनाउनुभएको थियो । बि.स २०७३ मा नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा गण्डकी प्रदेशको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।

छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत तत्कालिन क्षेत्रीय खेलमा म्याग्दी जिल्ला टिम कप्तानको रुपमा पनि बानियाँले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनु भएको थियो । सातौँ र आठौँ प्रतियोगीतामा म्याग्दी महिला टिमलाई प्रथम स्थान हासिल गर्दा प्रशिक्षकको भुमिकामा बानियाँ रहनुभएको थियो ।

प्रशिक्षकको भूमिकामा वडादेखि जिल्लास्तरीय खेलमा समेत प्रशिक्षण दिनुभएका बानियाँ पछिल्लो बागलुङ, पर्वत, मस्ताङ, कास्की लगायतका ठाउँहरुमा र नेपाली सेनाको श्रीवक्स गुल्म म्याग्दी, विरदल गण रौतहट, पश्चिामाञ्चल पृटना टिम पोखरा, श्रीमेहर गण बाग्लुङ लगायतका ठाउँहरुमा पुग्नुभएको छ । बानियाँ संस्थापक अध्यक्ष रहेको काउँलेगौडा यूवा क्लव म्याग्दीमा धेरै भलिबल प्रतियोगिता जित्ने क्लवको रुपमा स्थापित छ ।

Leave a Reply