पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका अन्तर्गत सञ्चालित विभिन्न विद्यालयका कम्प्युटर शिक्षकहरुलाई कम्प्युटर हार्डवयरसम्बन्धी आधारभूत तालिम आज (बिहीबार) बेनीमा सम्पन्न भएको छ । विद्यालयमा रहेका कम्प्युटरहरुको सामान्य मर्मतसम्भार गरी प्रयोगमा ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।

गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत संगम म्याग्दीको आयोजनामा तालिम चलाइएको थियो । पाँच दिनसम्म चलेको तालिममा कम्प्युटर हार्डवयरसम्बन्धी आधारभूत विषयमा आधारित रहेर कम्प्युटरको मर्मत, नेटवर्किङ, फाइल सेयरिङ, इमेल–इन्टरनेट, आवश्यक सामग्री डाउनलोड गर्ने, कम्प्युटर तथा प्रिन्टरमा ड्राइभर कसरी राख्नेलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको अवसरमा सहभागीहरुलाई प्रयोगात्मक अभ्यास समेत गराइएको थियो भने कुल १० जना शिक्षकहरुले सहभागिता जनाएको तालिमको बेनी इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोप्राइटर बामदेव रिजालले सहजीकरण गर्नुभएको थियो । तालिममा सक्रिय सहभागिता जनाएर उत्कृष्टता हासिल गर्ने सहभागी शिव फगामीलाई टेक्नोलोजीका प्रोप्राइटर एवं तालिमका प्रशिक्षक रिजालले ३२ जिबी क्षमताको पेनड्राइभ पुरस्कारस्वरुप प्रदान गर्नुभएको थियो ।

तालिमको समापनसत्रलाई सम्बोधन गर्दै संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले सहभागीहरुलाई तालिम अवधिभर सिकेको ज्ञान, सिपलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि प्रविधि तथा क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु संस्थामार्फत निरन्तर रुपमा सञ्चालन गरिने बताउनुभयो । संगम म्याग्दीका शिक्षा अधिकृत चन्द्रप्रकाश बुढामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा तालिमका सहभागीद्वय रुपेश सुवेदी र कुलराज विकले अनुभव मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply