श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ।

श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण गर्दै लिटल गार्डेन एकेडमीले अध्ययनरत विद्यार्थीको सहभागितामा राधा कृष्ण बनाएर भजनकृतनसहित बजारमा रथयात्रा गरेका छन् । विद्यार्थीलाई धार्मिक महत्वका बारेमा जानकारी दिन र आफ्नो पर्वको संरक्षणमा कलिलै उमेरदेखि सचेत हुन रथयात्रा सहित पर्वको महत्वका बारेमा जानकारी दिइएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।

विद्यालयमा नेपालीका हरेक पर्वका बारेमा जानकारी र विद्यार्थीको समेत सहभागी हुने गरी ब्यवस्थापन मिलाउने गरिएको सुबेदीको भनाई छ । आजका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन रहेको अवस्थामा मन्टेश्वरीदेखि कक्षा ८ सम्मका विद्यार्थीको प्र्रत्यक्ष सहभागीतालाई जोड दिइएको छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवीय प्रवृत्तिको सम्हार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा जिल्लामा रहेका कृष्ण मन्दिर, विभिन्न धार्मिक संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभा यात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

Leave a Reply