पश्चिम र उत्तरी म्याग्दीका जङ्गल तथा भिरपाखामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका तामा, स्लेट, खरी, शिलाजीत र चुनढुङ्गालगायत बहुमूल्य खानी उत्खननको पहल हुननसक्दा जङ्गलमा नै खेर गइरहेका छन् ।

सङ्घीय सरकारको मातहतमा रहेको खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको अनुमति नदिँदा स्थानीय तहको बलियो आयस्रोत बन्नसक्ने दर्जनौँ खानी जङ्गलका भिर पहरामा नै अलपत्र परेका हुन् ।

जिल्लाका स्थानीय तह र सरोकारवालाले खानी सञ्चालनका विषयमा पटकपटक नेपाल सरकार र सम्बन्धित निकायसँग उत्खननका अनुमति माग गर्दा पनि अनुमति प्राप्त नभएपछि यी खानी ‘भिल्लाका देशका मणि’ जस्तै प्रयोग र महत्वविहीन बनेका हुन् ।

जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनका खानीसमेत भएको पुष्टि भए पनि सम्बन्धित निकायको मौनताले र खानी उत्खननसम्बन्धी प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानी अलपत्र परेका सरोकारवालाले बताएका छन् ।

जिल्लाको मालिका गाउँपालिका–५ ओखरबोटमा रहेको नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन गर्न नसकिएको खानीका पूर्व ठेकेदार तथा हाल मालिका गाउँपालिका–५ ओखरबोटका पूर्ववडाध्यक्ष दिलीप शेरचन बताउछन् ।

Leave a Reply