म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा परेको छ। एभरग्रिन यूथ क्लवको आयोजनामा भदौ १ गतेदेखि जारी प्रतियोगिताको शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका–२, सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित उपाधी जितेको हो ।

निर्धारित ५० मिनेटको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि ट्राइबेकरमा ढकेलिएको थियो ।उपाधी बिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ८५ हजार ५५५ र उपबिजेताले रु. ४५ हजार ५५५ प्राप्त गरे । प्रथम पुरस्कार स्वर्गीय इच्छा भण्डारीका परिवार र दृतीय पुरस्कार धवलागिरी गाउँपालिका–४ घर भई हाल अमेरिकामा रहेका भिमराज पुनले प्रायोजन गरेका थिए ।

पश्चिम म्याग्दी युवा क्लव दरवाङले अनुशाषित टिमको उपाधी सहित नगद दश हजार पुरस्कार पाएको छ ।एभरग्रिनका कमल थापामगर उत्कृष्ट खेलाडी, डिफेण्डरमा आशिश गुरुङ, कोचमा सन्दीप शेरपुञ्जा, गोलरक्षकमा निशान राम्जाली उत्कृष्ट बने । मालिकाका राहुल थापा उत्कृष्ट मिडफिल्डर र ६ गोल सहित एभरग्रिनका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । बिजेता र उपबिजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजिव गुरुङ (मनाङ्गे) र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।

मन्त्री गुरुङको सचिवालय संयोजक रोनित गुरुङले बेनीको खुल्लामञ्च खेलमैदान निर्माणका लागि यस वर्ष ८ लाख बिनियोजन भएको, प्रदेशभर २४३ वटा खेलपूर्वाधार निर्माण गरेको बताए । सोही अवसरमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको तर्फबाट सहभागि भएर स्वर्णपदक दिलाउने खेलाडीलाई मासिक तीन हजार उपलब्ध गराउने निर्णय भएको बताइएको थियो ।

मन्त्री गुरुङले मन्त्रालयको तर्फबाट आयोजकलाई प्रतियोगिता सञ्चालनका लागि पचास हजारको डमी चेक हस्तान्तरण गरेका थिए भने फुटबल खेलको विकासमा योगदान गरेकोमा बेनी नगर कार्यपालिका सदस्य समेत रहेका जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष कृष्णुकमार विश्वकर्मा र दरवाङका दोरण शेरचनलाई सम्मान गरिएको थियो। सोही अवसरमा युवा क्लवहरुलाई मन्त्री गुरुङले खेलकुद सामग्री वितरण गरिएको क्लवका अध्यक्ष निराज राम्जालीले बताए ।

कोरोना संक्रमणका कारण विगत तीनबर्षदेखि ठप्प फुटबलले बेनीबजारमा रौनकता छाएको थियो । रोजगारको सिलसिलामा अस्टे«लियामा मृत्यु भएका क्लवका सदस्य एवम् फुटबल खेलाडी भण्डारीको स्मृतिमा हुने प्रतियोगितामा २७ टिमले सहभागिता जनाएका थिए । बेनीमा सक्रिय रहेको क्लव खेलकुद सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय छ ।

Leave a Reply