ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । राजयोग केन्द्रको आफ्नै भवनमा विविध झाँकि सहित सांस्कृतिक एवं आध्यात्मिक प्रवचन कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले विविध पर्वहरुको आध्यात्मिक रहस्य सहित मनाउदा सार्थकता हुने बताउनुभयो । कार्यक्रमका अन्य बक्ताले तनाव व्यवस्थापनका लागि योग, ध्यान तथा सकारात्मक सोच र सन्तुलित आहारविहार गर्नेतर्फ जोड दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय धौलागिरी क्षेत्रका प्रमुख राजयोगिनी ब्र.कु. सावित्री दिदीले योग, ध्यान र तपस्याले आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन तथा द्वन्द्व न्युनीकरण हुने बताउनुभयो ।

कार्यक्रममा कुश्मा शाखाका प्रमुख ब्र.कु. राधिका दिदी, म्याग्दीका प्रमुख ब्र.कु. रीना दिदीले दिव्य महापुरुष, सत्ययुगी राजकुमार श्रीकृष्णको विषयमा आध्यात्मिक रहस्यका बारेमा प्रवचन गर्नुभयो । विविध सांस्कृतिक कार्यक्रम गरी भव्यताको साथ श्रीकृष्ण जन्माष्टमी मनाएको राजयोग प्रशिक्षण केन्द्र बेनी म्याग्दीले जनाएको छ ।

Leave a Reply