म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय सहकारी बैंकको सेवा र सहकारीको समसामायिक विषयमा छलफल कार्यक्रममा बोल्ने सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो ।

सोही अवसरमा शाखा स्थापना तथा पहलका लागि बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको तर्फ राष्ट्रिय सहकारी बैँक लि.का अध्यक्ष केवी उप्रेतीलाई शाखा स्थापनाका लागि ज्ञापनपत्र समेत बुझाइएको थियो ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको बताए । उनले सहकारीले मापदण्ड अनुसार सेवा प्रवाह गर्न सकेमा वित्तिय समस्या नआउने बताए ।

‘सबै सहकारीको अवस्था एउटै छैन्,‘वित्तिय अनुशासनमा रहेका सहकारीलाई कुनै समस्या हुदैन’ अध्यक्ष उप्रेतीले भने । उनले सहकारी बैंक सहकारीकै हितमा मात्रै काम गर्ने भएकाले तालिम तथा विभिन्न गतिविधिमा सहकार्य आवश्यक रहेको बताए । उनले म्याग्दीमा बैंकको शाखा स्थापना गर्न सहकारीकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।

वित्तीय सेवासँगै सहकारीहरुको संस्थागत विकासका लागि बैंकले हरेक समय साथ दिने भएकाले शाखा स्थापनाका लागि आवश्यक सहयोग गर्ने बताए । सोही अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष कार्कीले संघलाई उपेक्षा गर्ने सहकारीहरूका कारण समस्या भएको बताए । सहकारी बैंकको शाखा स्थापना गरेपछि निक्षेप संकलन तथा तालिम, अनुगमन सहितका कार्यहरुमा समेत सहज हुने बताए ।

सबै सहकारीलाई बैंकमा आवद्ध गराउने गरी अगाडी बढ्न सकेमा शाखा स्थापनापनि निकै सहज हुने बैंका गण्डकी प्रदेश संयोजक एवम् सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बताए । उनले सहकारी बैंकले म्याग्दीमा शाखा स्थापना गरेपछि सहकारीकर्मीको भूमिका थप बलियो र सहकार्यमा नमुना हुनुपर्ने बताए ।

Leave a Reply