“तिजको लहर आयो बरीलै….“
भाद्र महिनाको आगमनसंगै घन्कने गित हो यो ।
हिन्दुहुरुको महान पर्वको रुपमा तिजलाई लिने गरिन्छ । विशेषत भाद्र शुक्ल तृतीयका दिनलाई तिजको रुपमा मनाइन्छ । विज्ञहरुको भनाई सापटी लिने हो भने सतिदेवीको पुनर्जन्म लिएका पार्वतीले शिव पति पाउ भनी व्रत आराधना गरेको र उनको मनोकामना पूरा भएकोले उक्त दिन महिलाहरु निराहर व्रत बसेर अविवाहित भए शिव जस्तो पति पाउन र विवाहित भए पतिको दिर्घायु र समृद्धि, पुत्र, धन, ऐश्वर्य प्राप्ति हुने, आफ्नो पनि आयु लामो हुने मान्यता रहेकोले व्रत बस्ने चलन रहि आएको छ ।
व्रत बस्नु स्वास्थ्यका लागि यसै पनि फाईदाजनक हुन्छ नै । तिजमा भगवान शिवको बिशेष महिमा रहेको छ ।
तिजलाई हरितालिका तिज पनि भन्ने गरिन्छ । किम्वदन्ति अनुसार पार्वतीका पिता हिमालय पर्वतले आफ्नो छोरीलाई बिष्णु भगवानसंग बिहे गर्ने पक्का गरेपछि पार्वतीले आफ्ना आलि (सखि÷साथीसंगी) हरुलाई आफुले शिवसंग मात्र बिहे गर्ने बताएपछि उनलाई हरण गरेर नदि किनारमा पु¥याएको र त्यही नदि किनारमा पार्वतीले निराहर शिवजीको व्रत बसी शिव पति पाएकोले यसलाई हरितालिका तिज भन्न थालिएको हो ।
त्यसैले तिजलाई स्त्रीहरुको सौभाग्यको प्रतिकको रुपमा लिईन्छ । धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका लागि गरिने व्रत नै तिज हो । तिज सम्बन्धी अर्को किम्बदन्ति श्रीकृष्ण भगवानसंग पनि जोडिएको छ । भाद्र शुक्ल तृतीयको दिन श्रीकृष्ण भगवानको न्वारन भएको र त्यहि खुशीमा गोकुलबासी महिलापुरुषहरु खुशीले नाँचगान गरि रमाईलो गरेकोले तिज मनाउने चलन चलेको भनाई रहिआएको छ ।
बिशेषगरि क्षेत्री र ब्राह्मण समाजको मात्र हो कि भनेर व्याख्या गर्ने गरिएको तिज नेवार समुदायले समेत दिनभर लाखे घुमाएर साँझ श्रीकृष्ण भगवानबाट बध गरि समापन गर्ने चलन रहिआएको छ । सबै जाति र समुदायहरुले हर्ष उल्लासका साथ तिज मनाउने गरेको पाइन्छ । जेहोस् हिन्दु धर्ममा तिजको आफ्नै महत्त्वपूर्ण स्थान रहि आएको छ । महिला मात्र होईन पुरुषहरु पनि व्रत बस्न मिल्ने यो पर्वको आफ्नै धार्मिक र परम्परागत महत्व र विश्वास रहिआएको छ । नेपालमा पनि तिज पर्व घुमघामका साथ मनाईने गरिन्छ ।
वर्खाको रोपाई सकेर थकित अवस्थामा विवाहित चेलीलाई माईति दाजुभाइ लिन आउने र वर्षभरिको थकान मेट्न खुलेर माइतीमा नाँचगान गरि गित मार्फत सुखदुःख पोख्ने गरिन्छ । माईति लिन नआएका र घरबाट जान नदिएका महिलाहरु शिव मन्दिर, चौतारी लगायतका स्थानहरुमा भेला भएर गित मार्फत मनको बह पोख्ने गरेको पाईन्छ ।
तिजको अघिल्लो दिनलाई दर खाने दिनको रुपमा मनाईन्छ ।
भोलिपल्ट तिजमा पानी पनि नपिईकन निराहर व्रत बस्ने भएकोले अघिल्लो दिन माईतिले मिठो मिठो पकाएर खुवाउने खानालाई दर भनिन्छ । लसुन प्याज लगायत जुठो मानिने खान नमिसाईकन तयार गरेको खानाले भोलिपल्ट भोकै व्रत बस्न आड दिने भएकोले त्यसलाई दर भनिएको हो । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तिजको अभिन्न अंग हो । पञ्चमीलाई पनि विशेष महत्त्व दिई पुजाआजा गरेपछि मात्र तिज सकिन्छ ।
तिजको दिन महिलाहरु बिशेश श्रृङ्गारपटार गर्ने गर्दछन् । रातो साडी, रातो टीका, रातो पोते, रातो चुरा लगायर सजिएकी नारी वर्ष भरिको पीडा भुलेर रम्ने गर्दछन् । नारीले लगाउने यस पहिरनको पनि बेग्लै महत्त्व र पहिचान छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । रातो साडी सुख, समृद्धि र साहसको प्रतीक, रातो टीका सौभाग्यको प्रतीक हो । रातो पोतेले शान्ति र आनन्द प्रदान गर्छ । हृदय स्वच्छ भएर मनोकामना पुरा हुने धार्मिक विश्वास तिजको व्रतमा रहिआएको छ ।
यसरी मौलिक र परम्परागत महत्व बोकेको तिज पछिल्लो समय भने केही भड्किलो बन्दै गएको महशुस हुन थालेको छ । तिजको नाममा विकृति मौलाउदै गैरहेको छ । दर खाने निहुँमा महिनौ दिन अघिदेखि जुट्ने र दरसंगै फरक परिकार पनि खानेपिउने संस्कृति मौलाउदै गएको छ ।
एकअर्कामा प्रतिस्पर्धा हुने गरि लुगा गहना प्रदर्शन गर्ने, सामाजिक सञ्जालहरुमा पोष्टाउनाले हँुदा खाने वर्गलाई तिजबाट टाढा बनाउदै गएको भान हुन्छ । तिजको अघिल्लो दिन बाहेक खाएको दरले कुनै धार्मिक र सांस्कृतिक अर्थ लाग्दैन । नत फल दिन्छ नै । यो त फगत रमाइलो र समय कटाउने माध्यम मात्र बन्न जान्छ । जसले जे भने पनि लगन नभएको महिनामा बिहे हुदैन ।
माघे संक्रान्तिमा रंग दल्नु र फागु पुर्णिमामा तरुल खानुको कुनै अर्थ रहदैन । तिजको नाममा ¥याप गित गाउने र पोइल जान पाम भनी नाँच गान गर्नाले नत शिवजी खुशी हुन्छन् नत शिव जस्तो वर नै मिल्दछ । महिनौसम्म दर खाने हामीले पञ्चमीमा व्रत बसी तीनसय पैसठ्ठीवटा दत्तिवनले दात माझेर पाप नष्ट ग¥यौ कि गरेनौं ? शरिरमा माटो लेपेर नुहायौ कि नुहाएनौ ? प्रश्न यहिनेर छ ।
वरु तिजको ऐतिहासिक महत्वको बारे आगामी पुस्तालाई स्पष्ट हुने कार्यक्रमहरु गर्ने, धार्मिक महत्व दर्शाउने खालका अन्तरक्रिया गर्ने, चेतनामुलक डकुमेन्ट्री र भिडियोहरु बनाउने, तिज गित प्रतियोगिताहरु गर्नाले संस्कृतिलाई जिवन्त राख्न मद्दत गर्दछ ।
एक साता अघिदेखि चोखो खानपिन गरेर तिजमा दिनभर व्रत बसि एक चित्त एक भक्त भै शिवजीको आराधना गरि भजन कृतन गर्न सकिन्छ । तिजलाई फेसनको रुपमा नलिई पवित्राको प्रतीक, उत्कृष्टताको प्रतीक र सुमधुर दाम्पत्य जीवनको शुरुआत र सभ्यताको सानको रुपमा लिन सकिन्छ । नत्र भने राष्ट्र निर्माता भनी पढि आएको राजा पृथ्वीनारायण शाह समेत काल्पनिक हुन भन्ने पुस्ताले तिजको महत्व बुझ्न त्यति सजिलो भने निश्चय नै छैन ।
भविष्यमा तिजको ईतिहास खोज्न विदेशी संग्राहलयमा पुग्नु पर्ने दिन नआउला भन्न सकिन्न । विदेशी नारीहरु रातो चुरा, पोते, साडी र टीका लगाएर टिकटक बनाउने, हामीले भने लाईक कमेन्ट गरेर बस्ने दिन पनि आउन सक्छ । त्यसैले तिजको मौलिकता पनि मर्न नदिने र आधुनिकताको नाममा भड्किलो पनि बन्न नदिई संस्कृति जोगाउनु आजको आवश्यकता हो । हुँदा खाने र हुने खाने दुवैको साझा पर्व बनोस् तिज नत्र भने एकादेशको कथा बन्न सक्छ । बेलमा सचेत बनौं । जय तिज !