बेनी नगरपालिका-५,बगुवाखोलाका सुनिल बानियाँ बिहानै बंगुरको खोरमा पुग्छन् । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले आफ्नै लगानीमा खेर गएको जमिन सदुपयोग बंगुरपालन गरेका छन् ।

करिब एकबर्ष अगाडीबाट बंगुर फार्म सुरू गरेका बानियाँले उत्पादन समेत बिक्री गर्न थालेका छन् ।खोरमा मलमुत्र सफा गर्ने,दानापानी दिने,नियमित खोप लगाउने र मासु खान योग्य बंगुरलाई तयार गरी बेनीमा रहेको आफ्नै पसलमा ल्याएर ग्राहकलाई बिक्री गर्ने बानियाँको दैनिकी नै बनेको छ।आफुँले २ लाख र जापानमा रहेकी श्रीमती निरुता भण्डारीको डेढ लाखको कमाईलाई बिट मारेर स्वदेश फर्किएर बंगुरपालनमा रमाइरहेको उनले बताए।

‘कोरियामा सिकेको सिपलाई गाउँघरमै प्रयोग गरेको छु,‘उत्पादन अनुसारको बजार भएमा यही प्रसस्तै कमाई छ’बानियाँले भने। उनले गुणस्तरीय मासुका लागि कोरियाको मोडेललाई प्रयोग गरेको बताए । ल्यान्ड्रेस र योक सायर उन्नत जातका करिब ६० वटा बंगुर छन्। खोरमा जन्मिएका पाठापाठीलाई नियमित खोप, दानापानी लगायतका आवश्यक मादपण्ड पुरा भएपछि मात्रै बजारमा लैजाने गरिएको बताए ।

आधुनिक फार्म मात्र नभई गाउँमै बधशाला छ भने सदरमुकाम बेनीस्थित होटल याक नजिकै मासु बिक्री केन्द्र समेत छ । ‘स्वच्छ मासुका लागि खोरमै ध्यान दिनुपर्छ, मापदण्ड पूरा गरेमा ग्राहकको समस्या हुदैन’ उनले भने ।

करिब २ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा माउ, भाले बंगुर, पाठापाठी हुर्काउन र मासु प्रयोजनका लागि पालिने बंगुर बस्ने अलग खोर बनाइएको छ । त्यस्तै प्रसुती कक्ष, सुत्केरी बंगुर राख्ने कोठा,फार्ममा भाले लगाउने एउटा छुट्टै कोठा छ भने भिटामिन,आइरनको सुई दिने, स्वाइन फिभर (ज्वरो),खोरेतको सुई रअरुबेला रोग अनुसारको औषधि र उपचार लगाउने ठाउँ समेत अलग छ ।

कोरियाको जस्तै आधुनिक खोर नभएपछि स्वच्छ मासुका लागि आवश्यक पर्ने सबै विधि र प्रविधिको प्रयोग गरेको बानियाँले बताए । हालसम्म खोर निर्माणमा पच्चीस लाख रुपैया खर्च भइसकेको छ। ‘अहिले मासिक डेढलाभन्दा बढीको बंगुर बिक्री हुन्छ,‘सबै खर्च कटाएर मासिक ३ लाख बचत नाफा कमाउने योजना लक्ष्य छ’ बानियाँले भने। उनले बजार अनुसार क्षमता बढाउने तयारीमा रहेको उनले बताए ।एउटा बंगुरलाई ३५ देखि ४५ हजारसम्म पर्छ ।बंगुरलाई दानामा अभाव नहोस भनेर मिल समेत राखेका छन् ।

बंगुरका कारण वरपरका छिमेकीमा दुर्गन्ध फैलिन नदिन सचेत रहेको बानियाँको भनाई छ । विदेशमा दुःख गरेर कमाएको रकमलाई गाउँमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने अवस्था रहेको उनले बताए। उनले खोप सहितको उपचार आफुँले नै गर्ने भएपनि बेलाबेलामा पशु चिकित्सकलाई फार्ममा बोलाएर बंगुरको स्वास्थ्यबारे निरीक्षण गराउने गरेका छन् । मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति विदेश जानुपर्ने बाध्यता नभएको बताए ।सरकारबाट पाइने अनुदानले समेत ब्यवसायलाई प्रोत्साहन हुने ब्यवसायी बानियाँको भनाई छ ।

Leave a Reply