म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन सुरु गरेको छ ।

पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र मूल्याङ्कन गर्ने प्राविधिकलाई पनि वडामै खटाएको हो ।

यसअघि दुई लाखसम्म बजेट विनियोजन भएका योजनाको सम्झौता वडाबाटै गर्ने अभ्यास गरेको नगरपालिकाका प्राविधिक वडा विभाजन गरेर नगरपालिकाको कार्यालयबाटै परिचालन हुने गरेका थिए ।

चालू आर्थिक वर्षदेखि सबइञ्जीनियरलाई वडा कार्यालयमै बसेर सेवा दिने गरी खटाइएको नगरप्रमुख सुरत केसीले बताए ।

‘उपभोक्ता समितिलाई नगरपालिकासम्म आउने जाने झन्झट हटाउनका साथै पूर्वाधार योजनालाई गुणस्तरीय बनाउन वडा कार्यालयमा प्राविधिक खटाएका हौँ,’ उनले भने, ‘हाल सात जनालाई वडामा पठाएका छौँ । प्रदेश लोकसेवाबाट सिफारिस र सरुवा भएर आउने प्राविधिकलाई पनि वडामै पठाउने तयारीमा छौँ ।’

वडा नं १ र २ मा कमल थापा, ३ मा मिथीलेश्वर दास, ४ र ५ मा चन्द्रबहादुर थापा (कुमार), ६ मा गौरीश्वर रिजाल, ७ मा सन्ध्या रिजाल, ८ मा गोपाल मगर, ९ र १० मा सुनिल श्रेष्ठलाई प्राविधिकको जिम्मेवारी तोकिएको छ । वडाका योजना र प्राविधिकलाई सघाउन एक जना इञ्जीनियर नियुक्त गर्न लागिएको पनि नगरप्रमुख केसीले बताए ।

पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर विमलरञ्जन कार्कीलाई समग्र नगरपालिका, प्राविधिक अर्जुन थापालाई ठेक्का र विष्णु पौडेललाई भवनको नक्सापाससम्बन्धी जिम्मेवारी तोकिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेका योजनाको सर्वेक्षणका लागि नापजाँच थालिएको प्राविधिकले बताएका छन् ।

उपभोक्ता समिति गठन र सर्वेक्षणको प्रक्रिया सँगसँगै अघि बढाएको नगरपालिकाले निकासा र खर्चको अख्तियारी आउनेबित्तिकै सम्झौता गर्ने तयारी गरेको छ ।

यस वर्ष नगरपालिकाले रु १५ लाखसम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले जानकारी दिए ।

Leave a Reply