म्याग्दीको बेनी नगरपालिका–९, मा रहेको गलेश्वर बजार क्षेत्र र रघुगंगा गाउँपालिका–३, चमेरे, तिल्किनी तथा राहुघाट क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको अगुवाइमा आज (बुधवार) गलेश्वरसहित आसपासको क्षेत्रका पसलको अनुगमन गरिएको हो ।

गलेश्वर क्षेत्रमा सञ्चालितमध्ये कुल २८ वटा पसल तथा होटलहरुको अनुगमन गरिएकोमा २० वटा किराना पसल र ८ वटा होटलहरु रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । किराना पसलतर्फ फलफुल, पुजा सामग्री, खाद्यान्नलगायत रहेका छन् । अनुगमनको क्रममा पसल दर्ता नगरी सञ्चालन गरेको, नवीकरण नगरेको, पसलमा म्याद गुज्रिएको सामानहरु बिक्रीमा राखेका, मूल्युसुची नटाँसेको, एउटा पसल दर्ता गरेर अर्कै सञ्चालन गरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् ।

अनुगमन गर्ने क्रममा भेटिएका म्याद सकिएका सामानहरु चिसो पेयपदार्थ, ससेस, दालमोठलगायत जङ्कफुडहरु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर सन्तोष ढुङ्गानाले बताउनुभयो । उहाँले गलेश्वर बजार क्षेत्र आसपासमा पहिलोपटक अनुगमन गरी पसल सञ्चालकहरुलाई सचेत बनाउने काम गरिएको हुँदा अब कानुनी प्रक्रिया पुरा गरेर पसल सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्ने क्रममा कानुनी प्रक्रिया पुरा नगरिकनै पसल सञ्चालन गरेको पाइएमा कानुनअनुसार कडा कारवाही गरिने अनुगमन टोलीले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख पोषनाथ शर्माको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राविधिक सहायक सहन्सा कुमार मेहता, जिल्ला प्रशासन कार्यालय म्याग्दीका नायव सुब्बा लिलाबहादुर चोखाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply