प्रतिनिधि सभाबाट पुनः ध्वनी मत र मत विभाजनमा बहुमतले पारित नागरिकता विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि धर्ना दिइएको छ । पारित नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाज म्याग्दीद्वारा व्यानर प्रदर्शन गर्दै आज (बुधवार) धर्ना दिइएको हो ।

‘पराइलाई नागरिकता दिएर हामीलाई अल्पसङ्ख्यक बनाउने षड्यन्त्रको घोर भत्र्सना गर्दछौं’ भन्ने नारासहित क्षत्री समाज म्याग्दीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको जनाएको छ । क्षत्री समाज नेपालको केन्द्रीय घोषित कार्यक्रमअनुसार दिउँसो ११ बजेदेखि १२ बजेसम्मको समयमा प्रशासन कार्यालय अगाडि पुगेर व्यानरसहित नागरिकता विधेयकको विरोध गर्दै धर्ना दिइएको थियो ।

यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनी विधेयक प्रमाणिकरण नगरिकनै पुनः प्रतिनिधि सभामा पठाउनुभएको थियो । सोही विधेयक अहिले फेरि प्रतिनिधि सभाले छलफल नगरिकनै बहुमतको आधारमा पारित गरेपछि नागरिकता विधेयकको विरुद्धमा विरोध गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि उँभिएर धर्ना दिइएको क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीका उपाध्यक्ष देवेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।

धर्ना कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा क्षत्री नगर समाजबाट समेत सहभागिता रहेको थियो । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनाइएको नागरिकता विधेयकमा खासगरी नेपालमा विवाह गर्ने विदेशी महिलालाई वैवाहिक अङ्गिकृत नागरिकता प्रदान गर्ने समयसीमा हटाइएपछि अहिले नागरिकता विधेयको विरुद्धमा चौतर्फी रुपमा विरोध भैरहेको छ ।

Leave a Reply