अरिङ्गालले चिलेर घरमूलीको मृत्यु भएपछि आर्थिक समस्यामा परेको पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवारस्थित चौरको एक परिवारलाई साढे पाँच लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरिएको छ।

गत साउन १२ गते अरिङ्गालले चिलेर ३४ वर्षिय श्रीराम परियारको उपचारको क्रममा मृत्यु भएपछि उनका दुई श्रीमती र छ जना बालबालिकाहरू आर्थिक समस्यामा पर्दै आएका छन्। दैनिक मजदुरीको भरमा धानिँदै आएको नौ जनाको परिवारको मुख्य आम्दानीकर्ता श्रीरामको निधन भएपछि किरिया खर्च जुटाउन समेत परिवार असमर्थ बनेको थियो।

३४ वर्षिय बाबुलाई गुमाउनुको पीडा त्यसमाथि घरमा खानाका लागि अन्न समेत नभएको अवस्थामा दुईदेखि दश वर्ष उमेरसम्मका दुई छोरा र चार छोरीहरूको बिचल्ली भएपछि स्थानीय पाङ युवा क्लबले ‘आर्थिक सहयोग सङ्कलन अभियान’ सञ्चालन गरेको थियो। उक्त अभियानमा गाउँमै रहेका श्रीरामका छिमेकी, आसपासका गाउँ, वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका तथा देशकै विभिन्न स्थानमा रहेका चिनजानका व्यक्तिहरूलाई आर्थिक सहयोगका लागि अपिल गरिएको थियो।

क्लबका अध्यक्ष जयराम सुवेदीका अनुसार अभियान चलाएपछि पाँच लाख ६० हजार तीन सय ९७ रुपैयाँ सङ्कलन भएको थियो। किरिया खर्च उम्काउनको लागि तत्कालै रकम आवश्यक भएकाले सङ्कलन भएको रकममध्येबाट ५६ हजार र परिवार सञ्चालन गर्न तत्कालका लागि ४० हजार रुपैयाँ परिवारलाई दिइएको छ। बाँकी रहेको चार लाख ६३ हजार रुपैयाँ स्थानीय सहकारीमा राखिदिएको सुवेदीले बताए।

‘श्रीरामका दुई श्रीमती हुनुहुन्छ। दुवैतर्फ १÷१ जना बच्चाको नाममा सहकारीमा संयुक्त रूपमा मुद्दती खाता खोलेर चार लाख ६३ हजार रुपैयाँ खातामा राखिदिएका छौँ। उक्त रकमको ब्याजलाई वार्षिक रूपमा छ जना बच्चाहरूलाई बराबर पर्ने गरी क्लबले नै वितरण गर्ने छ,’ उनले भने, ‘परिवार निकै आर्थिक समस्यामा रहेकोले बिचमा छाक टार्नै नसक्ने, कोही बिरामी पर्ने लगायतका समस्या आएमा क्लबले आवश्यकता अनुसार मुद्दतीमा रहेको रकमलाई परिचालन गर्ने छ।’ सङ्कलन भएको रकम परिवारको नाममा राखिदिएको भए पनि उनीहरूको लागि चलाइएको ‘आर्थिक सहयोग सङ्कलन अभियान’ भने नरोकिएको अध्यक्ष सुवेदीको भनाइ छ।

श्रीरामका दुई श्रीमती फूलमाया नेपाली र नैनाकला दर्जीले आफूहरूको आर्थिक अवस्था कमजोर रहेको र मजदुरी नगरेसम्म छाक टार्न नसक्ने अवस्थामा रहेकाले बालबालिकाहरूलाई पाल्न नै समस्या भएको बताउँछन्।

एकातर्फ श्रीमान् गुमाउँदाको शोक अर्कोतर्फ कमाएर ल्याउने मुख्य मान्छेकै मृत्यु भएपछि भइरहेको आर्थिक समस्याले आफूहरूलाई कठिनाइ भएको उनीहरूको भनाई छ।

श्रीरामको घर नजिकै रहेको शारदापुरमा काभ्रोको रुखमा गोलो बनाएर बसेको अरिङ्गालले गाउँलेहरूलाई सताइरहेको थियो। अरिङ्गालको टोकाइमा आफ्ना सन्तान पनि पर्न सक्ने जोखिम देखेर श्रीराम साउन १२ गते साँझ छ बजे अरिङ्गालको गोला जलाएका थिए।

त्यहीँ नजिकै रहेको अर्को गोलाको बारेमा उनी बेखबर थिए। एउटा गोला जलाएको देखेपछि अर्को गोलाबाट आएका झण्डै दुई सय अरिङ्गालले उनलाई चिलेर घाइते बनाए।  गाउँमै रहेको स्वास्थ्य संस्थामा सामान्य उपचार गरेपछि तत्कालै थप उपचारको लागि धौलागिरि अस्पताल बागलुङले लगेर उपचार गर्दै गर्दा मृत्यु भएको थियो। Thahakhabar

Leave a Reply