राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज २०७९ को अवसरमा बेनीमा तीज गीत प्रतियोगीता आयोजना गर्ने भएको छ । तीजपर्वलाई उल्लासका साथ मनाउनका लागि प्रतियोगीतात्मक कार्यक्रमको आयोजना गरेको हो ।यहि भदौ ११ गते शनिबार म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा प्रतियोगीता संचालन गर्ने भएको हो ।

खुल्ला एकल तिज गीत प्रतियोगीता सहित विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने राष्ट्रिय संगीतकर्मी संघका सहसचिव गोकुल सुनारले जानकारी दिनुभएको छ । प्रतियोगीतामा प्रथम पुरस्कार रु १० हजार द्वितिय रु ५ हजार र तृतिय रु ३ हजार र प्रमाणपत्र रहेको छ । प्रतियोगीताको लागि प्रचार प्रसार, पत्राचार, आर्थिक सहयोग संकलन, तथा प्रतियोगी फारम वितरण कार्य सहित तयारीलाई तिव्रता दिएको संघका महासचिव तथा कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिनुभयो ।

संयोजक पौडेलका अनुसार प्रतियोगीतामा महिला वा पुरुष दुवैले भाग लिन पाउनेछन । एकल प्रतियोगीतामा मौलिक तिजका भाकामा समसामयिक विषयबस्तुका गीतलाई प्राथमिकता दिईने आयोजकले बताएको छ ।

संघले अघिल्लो बर्षपनि तिजको अवसरमा एकल लोक नृत्य प्रतियोगीता आयोजना गरेको थियो । अघिल्लो बर्ष पनि तिज गीतमा नृत्य प्रतियोागीताको आयोजनागरि तिज विशेष कार्यक्रम गरेका थियौँ, संघका अध्यक्ष विपिन पौडेलले भन्नुभयो, “यसपाली मौलिक तिज गीत प्रतियोगीता आयोजना गरेका छौ, यसबाट कला संस्कृतिको संरक्षण संगै नयाँप्रतिभाले अवसर पाउनेमा विश्वास लिएका छौँ” ।

प्रतियोगीतामा सहभागी हुनका लागि कलाकारहरुलाई संघले अनुरोध गरेको छ । भदौ १० गते साँझ सम्म नाम दर्ता गर्ने समय अवधि भएकाले त्यस अगावै फोन वा फेसवुक मार्फत नामदर्ता गराउन आग्रह गरिएको छ ।

संघको तिज विशेष कार्यक्रममा प्रतियोगीता संगै जिल्लाका चर्चित लोक तथा दोहोरी कलाकारहरुबाट सांगीतिक प्रस्तुती समेत रहने बताईएको छ ।कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि आवश्यक सहयोग गरिदिन तथा कार्यक्रममा उपस्थित भएर सांगीतिक मनोरञ्जन लिन पनि आयोजक संस्था राष्ट्रिय संगीतकर्मी संघले आव्हान गरेको छ ।

Leave a Reply