म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली जोड्ने मुख्य सडक करिब तीन महिनादेखि अवरुद्ध भएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्ड अन्तरगत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट बिच्छेद भएको हो ।

पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण रुटको प्रयोग गर्न बाध्य भएका छन् ।‘सडक मर्मत नहुदाँ सास्ती भएको छ,‘मर्मत गरेपनि सामान्य बर्षाले भत्काउने गरेको छ’ स्थानीय यूवा यामबहादुर घर्ती मगरले भने ।

गतबर्ष ढलान सहितको सडक पहिरोले बगाएपछि बैकल्पिक मार्ग हुदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो ।पहिरोले हलेगौडा सहित आसपासका क्षेत्रका बस्ती समेत जोखिममा परेको छ । भकिम्ली हुदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् ।

भकिम्ली जाने बैकल्पिक सडकअन्तरगत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्ड अन्तरगत राखु र मरेक हुदै आवतजावत गर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो ।

करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीबासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भएपनि उक्त स्थान सधै जोखिम बन्दै गएको वडा अध्यक्ष पदम पुनले बताए । ‘सडक अवरुद्ध हुदाँ जनतालाई सास्ती भएको छ,‘मर्मतमा ठूलो बजेटको आवश्यकता देखिएको छ’ वडा अध्यक्ष पुनले भने।

गतबर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि बैकल्पिक मार्गको समेत सर्वे भएको थियो । सरकारी निकायबाट विनियोजित बजेट बाहेक स्थानीयले कठोर श्रमदान गरी सडक विस्तार गरेका थिए । यसैबीच स्थानीयबासीले तत्काल सडक मर्मत वा सहज अर्को बैकल्पिक मार्गको खोजी गरी आवतजावतलाई सहज बनाउन माग गरेका छन् ।

 

Leave a Reply