नेपाली काङ्ग्रेस म्याग्दीले ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको घोषणा गरेको छ। शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरेको हो । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुरु भएको छ।

जिल्ला सभापति खमबहादुर गर्बुजाको सभापत्विमा भएको कार्यक्रममा पूर्व सभापति रेशमबहादुर बानियाँ, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ, केबी भण्डारी लगायतका पदाधिकारी, भात्रृसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने, गठबन्धन हुदाँको अवस्थामा निर्वाचन जित्न सक्ने आधारहरु, गठबन्धनमा आवद्ध दलहरुसँग सहकार्य लगायतका विषयमा अभियानमा छलफल हुने जनाइएको छ । म्याग्दीमा पहिलोचरणमा सबै स्थानीय तहमा अभियान सञ्चालन भएको छ।

यो अभियानमा जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने कांग्रेस म्याग्दीले जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका लागि जनताको घर–आँगनमा पुग्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने बताइएको छ ।

 

 

Leave a Reply