माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका म्याग्दीका एक परीक्षार्थीले पुनर्योग गर्दा ४ जिपिए ल्याएका छन् । सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीका उत्सव सापकोटाले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगको आवेदन दिएर सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।

म्याग्दीको मंगला गाउँपालिका बरंजा स्थायी घर भई हाल बेनीमा बस्ने सापकोटाले आफ्नो मेहनत अनुसारको नतिजा आएको बताए । ‘मेरो पहिलाको नतिजाबाट सन्तुष्ट थिएन,‘अहिले मेहनत अनुसारको नतिजा हातमा पर्दा निकै उत्साहित छु’ सापकोटाले बेनीअनलाइनलाई भने ।

उनले उत्तरपुस्तिका पुनर्योग गर्ने क्रममा आफ्नो मेहनत अनुसारको नतिजा आएकोमा विद्यालय परिवारलाई समेत धन्यवाद दिएका छन् । परिक्षार्थी सापकोटाले सामाजिक विषयमा पुनर्योगका लागि आवेदन दिएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताए । ‘हामीले सामािजक विषयमा गरेको मेहनत अनुसारको नतिजा आएको थिएन,‘यो विषयमा हाम्रो पढाउने शैली नै फरक छ, हामी पुस्तकसँग सामाजिक परिवेशलाई समेत जोड्छौ’ सुबेदीले भने ।

उनले सामाजिक विषयमा परीक्षा केन्द्रित नभई हरेक विषयबस्तुसँग बाहिरी ज्ञानलाई समेत प्राथमिकता दिने गरेको अवस्थामा जिल्ला प्रथमकै नतिजामा कम आएपछि पुनर्योगमा जान बाध्य भएको बताए । विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी बब्लु शाहले ३.९५ जिपिए ल्याएका छन् । साविकको धौलागिरी अञ्चल प्रथम भएको विद्यालयले अहिले नेपालमै ४३ जना ४ जिपिए ल्याउने विद्यार्थीको सूचीमा विद्यालयलाई पार्न सफल भएको संस्थापक बालकृष्ण सुबेदीले बताए।

‘आगामी बर्ष पनि हामीले यही नतिजालाई निरन्तरता दिने गरी तयारीमा छौ,‘अभिभावकलाई पनि हरेक अभियानमा साथ दिनुभएकोमा बधाई दिन चाहन्छौ’ संस्थापक सुबेदीले भने । विद्यालयबाट सहभागी भएका २२ जना विद्यार्थी सबैले ३ भन्दा माथि जिपिए ल्याएका थिए । बि.स २०६० सालमा पहिलोपटक म्याग्दीमा मन्टेश्वरी शिक्षाको अवधारणा सहित स्थापना भएको विद्यालयले परीक्षाभन्दा पनि विद्यार्थीलाई ब्यवहारिक र अतिरिक्त क्रियाकलापबाट समेत शिक्षण सिकाईलाई जोड दिने गरेको विद्यालयले जनाएको छ ।

Leave a Reply