सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आयोजनामा आज (शुक्रवार) सदरमुकाम बेनीमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्व–२०७९ को पूर्वसन्ध्याको अवसर पारेर दिदीबहिनी भेटघाट तथा दरखाने कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले पहिले–पहिले घर परिवारमा मात्रै मनाइने तीज पर्व पछिल्लो समय सामूहिक रुपमा मनाउन थालिएको बताउनुभयो । उहाले नेपाली समाजमा तीज पर्वको छुट्टै खालको धार्मिक तथा सांस्कृतिक परम्परा र महत्व रहेकाले यसलाई जोगानुपर्ने बताउँदै अब हरेक क्षेत्रमा व्यावसायिकता झल्किनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा ब्रह्माकुमारी राजयोग ईश्वरिय विश्वविद्यालय बेनीका सञ्चालिका रिना दिदीले तीज पर्वको धार्मिक महत्व रहेको बताउँदै शुद्द भई मन, वचन र कर्मले कामना गरेमा अटल सौभाग्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सौन्दर्यकला व्यवसायी संघका जिल्ला अध्यक्ष गंगा थापा कार्कीको अध्यक्षता, निवर्तमान अध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत र सचिव अश्मी महतको सञ्चालनमा सम्पन्न भएको थियो । दिदीबहिनीहरुले तीजको दर खानुका साथै नाचगान समेत गरेर रमाइलो गरेका थिए ।

नजिकिँदै गरेको तीज पर्वको अवसर पारेर सौन्दर्यकला व्यवसायी संघले दिदीबहिनीहरुको बीचमा भेटघाट गरी भलाकुसारीका साथै दुःखसुख साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । पछिल्लो समय सहर, बजारदेखि जिल्लाको ग्रामीण भेगसम्मै सौन्दर्यकला व्यवसाय गर्ने उद्यमीहरु बढ्दै गएका छन् ।

Leave a Reply