जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन्।

गाउँभन्दा केही तल रहेको पाखोगत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकोमा य वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो।

पहिरोको नजिकै रहेका कारण घर जति बेला पनि पहिरोमा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँ भन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।

‘गत वर्ष पहिरो सुरु भएको हो। अहिले पनि थप पहिरो बढेकोले हरेक वर्ष जमिनमा क्षति हुने क्रम बढेको छ। गत वर्ष नै आएका प्राविधिकले त्यस क्षेत्रभन्दा माथि रहेको बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएका रहेछन्,’ उनले भने, ‘जमिन फाट्ने सुरु गरेपछि त्यो सुझाव आए पनि त्यति छिटै सरिहाल्न पनि गाउँलेहरूलाई समस्या नै हुन्छ। बस्ती सरेको छैन तर जमिनमा धाँजा फाट्ने र बग्ने क्रम बढेको छ।’

जमिनको तल्लो आधार तहबाट पूरै फाटेको कारण माटो बग्दै जाँदा रुख र फलफूलका रुखहरू पनि ढलेका छन्। ठूलो  क्षेत्रमा पहिरो सुरु भएकाले संरचना निर्माण गरेर वा ग्याबिन जाली भरेर पनि पहिरो रोकिने अवस्था छैन। पहिरो बढ्दै गए त्यो भन्दा माथि रहेका सयौँ घरहरू विस्थापित हुने अवस्था छ।  पहिरो गाउँभन्दा तलबाट सुरु भएका कारण माथिका सबै घर पहिरोमा पर्ने जोखिम रहेको आचार्यले बताए।

तत्कालीन रूपमा पहिरोलाई नियन्त्रणमा राख्नगाउँपालिकाबाट प्राविधिक र जनप्रतिनिधि गएर अवलोकन गरेर छलफल भएको छ। बग्दै गरेको जमिनमा थप क्षति हुन नदिनको लागि तत्कालीन रूपमा वर्षाका कारण बगेर आउने पानीलाई पहिरोमा पस्न नदिन भल काटेर पहिरोमा नपर्ने गरी तर्काउन सकिने देखिएको छ। बग्दै आएको पानीका लागि ‘च्याम्बर’ बनाएर पाइप जडान गरी एकातर्फको सुरक्षित ठाउँमा फाल्न प्राविधिकले सुझाव दिएकाले त्यसै अनुसार बाढी तर्काउने योजना गाउँपालिकाले बनाएको छ।

फाटेको जमिनलाई केही हदसम्म रोक्न सक्ने घाँस पाइने भन्ने प्राविधिक सञ्जालमार्फत थाहा पाएपछि सर्लाही जिल्लाबाट उक्त घाँस ल्याएर पहिरोमा रोप्ने विकल्पबारे पनि छलफल भइरहेको अध्यक्ष आचार्यको भनाई छ। तत्कालीन रूपमा जुन उपाय अपनाएर बस्तीलाई सुरक्षित राखेपछि दीर्घकालीन रूपमा जोखिम कायमै हुने भएकाले बस्तीलाई सुरक्षित राख्न सकिने उपायबारे गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने उनले बताए। Source: thahakhabar.com/

Leave a Reply