---Advertisement---

पहिरोले बेनी-बागलुङ सडक अवरुद्ध

On: August 28, 2022 8:43 AM
Follow Us:

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ। बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो। थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए। बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो।

हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो। बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते भएका थिए। पहिरोले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्‍याएको छ।

यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रबार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ। हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो। पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ।