राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा हरितालिका तिजको अवसरमा आयोजित खुल्ला एकल मौलिक तिज गीत प्रतियोगीता सम्पन्न भएको छ । शनिबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित १७ टिम सहभागी प्रतियोगीतमा मंगला गाउँपालिका वडा नम्वर १ पैँयुपाटा निवासी हिरा वस्याल प्रथम हुनुभएको छ ।

त्यस्तै प्रतियोगीतामा रघुगंगा गाउँपालिका वडा नम्वर २ हाल पर्वत बेनी निवासी राजकुमार परियार द्वितिय र म्याग्दी धवलागिरी गाउँपालिका घर भई हाल पोखरा निवासी समिक्षा घर्तीले तृतिय स्थान हाँसिल गर्नुभएको छ । प्रतियोगीतमा अन्नपूर्ण गाउँपालिका ३ दाना निवासी रितेश घतानेले उत्कृष्ट प्रस्तुति सहित उत्कृष्ट कलाकारको अवार्ड प्राप्त गर्नुभएको छ । विजेतालाई क्रमश १० हजार, ५ हजार र ३ हजार सहित ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

विजेताहरुलाई बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य पदम रोकाय, जिल्ला अध्यक्ष विपित पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगीताको उद्घाटन गर्दै प्रमुख अतिथि बेनी नगरपालिकाका उपप्रुमुख लामिछानेले परम्परागत रुपमा मनाउँदै आएको तिज पर्वको महत्व हराउँदै जान लागेकाले तिजको मौलिकतालाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय समाजमा विकृति र विसङ्गति बढेको भन्दै यसतर्फ सवै सचेत हुनुपर्ने बताउनुभयो । घरेलु हिंसा न्युनिकरण गर्ने वलियो आधार आर्थिक समृद्धि भएकाले महिलाहरु कुनै न कुनै उत्पादनमा जोडिनु पर्ने उहाँको भनाई थियो ।

महिलाहरुलाई आयआर्जनमा लगाउनका लागि बेनी नगरपालिकाले आमा समुह संग उमपेयर कार्यक्रम संचालनका लागि बजेट विनियोजन गरेको बताउँदै लामिछानेले यसबाट महिलाहरु थोरै भएपनि आम्दानी गर्ने कार्यमा अभिप्रेरित हुने विश्वास गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले कार्यक्रमले संस्कृतिको संरक्षण संगै नयाँ प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर सृजना भएको बताउनुभयो । उहाँले म्याग्दी महोत्सव लगायतका सांस्कृतिक कार्यक्रममा जिल्लाका कलाकारहरुलाई प्राथमिकतामा राखिएको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताउनुभयो ।

कार्यक्रममा संगीतकर्मी संघका केन्द्रीय सदस्य रोकाय, उपत्यका संयोजक शिशिर शर्मा, संस्थापक जिल्ला अध्यक्ष भुमेन बानियाँ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान गण्डकी प्रदेशका संगठन विभाग सदस्य अमित विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संगीतकर्मी संघका प्रदेश अध्यक्ष गौतमले प्रतियोगीतमा उत्कृष्ट हुने हिरा वस्याललाई एउटा गीत निशुल्क रेकर्ड गराईदिने घोषणा गर्नुभएको राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीका महासचिव कमल पौडेलले बताउनुभयो । त्यसैगरि संघका उपत्यका संयोजक शर्माले उत्कृष्ट कलाकार रितेश घतानेलाई एउटा गीत रकेर्ड गरिदिने घोषणा गर्नुभएको महासचिव पौडेलले बताउनुभयो ।

प्रतियोगीताका निर्णायकमा प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष कृष्ण जिसी, गण्डकी प्रदेश समितिका संगठन विभाग सदस्य विश्वकर्मा र संघका गण्डकी प्रदेश अध्यक्ष गौतम रहनुभएको थियो । प्रतियोगीतमा सहभागी कलाकारहरुले महिला अधिकार, महिला हत्या, हिंसा, कलत्कार, महंगी, भ्रस्टाचार, न्युनिकरणदेखि लिएर माईति र चेलीका वेदनाहरु गीतमा प्रस्तुत गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष विपिन पौडेलको अध्यक्षता, उपमहासचिव गोकुल दिप सुनारको स्वागत र महासचिव पौडेल र सचिव गोकुल सुनारको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply