आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि यो खेलको संरक्षणहुने आशा पलाएको छ ।

तारा खेल खासगरी मगर, छन्त्याल र थकालीलगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन् ।

निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिका सहित तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकामा खेल अझ बढी प्रचलित छ ।

अहिले तारा हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वमा समेत आयोजना गरिँदै आइएको छ । यसले युवापुस्तालाई थप आकर्षित गरेको छ ।

रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीदेखि वाणको सहायताले तारालाई बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो ।

तारा खेल अङ्कका आधारमा खेलिने खेलाडीले बताएका छन् । नेपालको दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बडिगाड गाउँपालिका–८ का ७७ वर्षीय मोतीप्रसाद पुनले बताउनुभयो ।

करिब ४० वर्षको अवधिसम्म लोप भएको यो खेल पुनः खेलिन थालेको उहाँको भनाइ छ । अहिलेको युवापुस्ताले यो खेलप्रति बढी रुचि देखाएको हुँदा चर्चामा आएको उहाँको भनाइ छ ।

“आजभन्दा ४० वर्ष अगाडि यो खेल हामी निकै खेल्ने गरिन्थ्यो, माघेसङ्क्रान्ति आयो कि साथीभाइ जम्मा भएर तारा खेल्न सुरु हुन्थ्यो, हामीभन्दा पछिका पुस्ताले यो खेलप्रति खासै चासो दिएनन्, त्यसले गर्दा लोप भएको थियो, अब यो खेल देख्न पाइँदैन जस्तो लागेको थियो, अहिलेका युवाहरू खुब चासो दिएर लागेका छन्”, स्थानीयवासी पुनले भन्नुभयो, “अब संरक्षण होला भन्ने आश लागेको छ, स–साना बालबालिकालाई पनि यो खेल खेल्न प्रेरित गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ ।”

उहाँले ताराखेल जनजातिको पहिचानसँग जोडिएको हुँदा यसको संरक्षणमा युवापुस्ताले नै बढी जोड दिनुपर्ने बताउनुभयो ।वुढापाकाका अनुसार यो खेल सिकार खेलसँग सम्बन्धित रहेको छ ।

पुर्खाहरूले जङ्गलमा वन्यजन्तुलाई निशाना बनाएर सिकार गरेर मासु खाने गरेको र पछि गएर त्यसबाटै तारा खेलको विकास भएको बताइएको छ ।

“हाम्रा पुर्खाहरू धेरै वर्ष अगाडि जङ्गलमा बस्ने सिकार गर्ने गर्थे, उनीहरुले जनावरलाई निशाना बनाएर वाण हान्थे, सिकार गरेर ज्यान पाल्थे, सिकार गर्ने प्रचलनपछि गएर हरायो र तारा खेलको विकास भयो, त्यसले गर्दा यो खेल जनजातिको पहिचान र अस्तित्वसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “हामी त बूढो भइयो अब सकिँदैन, जानेको कुरा सिकाउने हो, युवाले नयाँ पिँढीलाई सिकाउनुपर्छ, हाम्रो संस्कार, संस्कृति जोगाउनु पर्छ ।”

परम्परागत तारा हान्ने खेल अझै पूर्णरूपमा संरक्षण हुन नसकेको खेलप्रेमी बताउँछन् । तारा खेलाडी दिप्सन छन्त्यालले लामो समय ओझलेका परेको यो खेलको तीव्र प्रचार र समय–समयमा खेलिराख्नुपर्ने बताउनुभयो ।

उहाँको यसको प्रवद्र्धन गर्न सकेमा बाह्य पर्यटक तान्न सक्ने भनाइ छ ।

“लामो समय ओझेलमा परेको खेल फेरि खेल्न थालिएको छ, यसको अझै पूर्णरूपमा संरक्षण भएको छैन, यो खेल निकै कलात्मक र रचनात्मक हुन्छ, खेल्ने र हेर्ने सबैलाई यसले आनन्दित बनाउँछ, यसले आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत भित्र्याउने सम्भावन छ, पछिल्लो समय अलिअलि चर्चामा आइरहेको छ, यसभन्दा अगाडि त यो लोप भइसकेको थियो”, खेलाडी छन्त्यालले भन्नुभयो, “हामी पनि लागिपरेका छौँ, नयाँ पुस्तालाई पनि सिकाउन जरुरी छ ।”

Leave a Reply