‘टप अफ दि वल्र्ड गल्फ क्लासिक’ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन्। विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन्।

उनी स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा २२ प्वाईन्टसहित च्याम्पियन बनेका हुन्। पोखरेली एमेच्योर गल्फर बलराम थापा भने उपविजेता बनेका छन्। उनी २० अकंसहित दोस्रो स्थानमा रहे।

महिला तर्फको प्रतिस्पर्धाको उपाधि सुष्मा सिंहले जितेकी छन्। महिला तर्फ केवल ३ प्रतिस्पर्धी मात्रै थिए। उनले १५ अंकसहित उपाधि उचालिन्। पुरुष तर्फको प्रतिस्पर्धामा लङ्गेष्ट ड्राइभ रबिन्दर सायनीले पुरस्कार थापे। उनले नेटग्रस तर्फ समेत उपाधि आफनो नाम लेखाए। क्लोज टु दि पिनको पुरस्कार भने श्याम सिंखडाले प्राप्त गरे। प्रतियोगितामा विजेतालाई संघीय सांसद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्ट, लोमान्थाङ गाँउपालिका अध्यक्ष टासी नोर्बु गुरुङ, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की लगायतले वितरण गरेका थिए।

प्रतियोगिताको उदघाटन ८१ वर्षिया डा. रिता थापाले गरिन्। उनको उदघाटनसँगै मुस्ताङ गल्फ कोर्षको औपचारिक उदघाटन गरिएको हो। उदघाटनसँगै प्रतियोगिता समेत आयोजना गरियो। प्रतियोगितामा सबैभन्दा पाका खेलाडी मेजर विजय मोक्तान थिए। उनी ७६ वर्षको उमेरमा विश्वकै उच्च उचाईको गल्फ कोर्षमा ९ होल पुरा खेले। ‘पहिलो पटक उच्च उचाईमा आएर गल्फ खेल्न पाउनु नै भाग्यमानी हो। त्यसमा पनि ओपनिङ गेमको अवसर जुर्यो,’ मोक्तानले खेलपछि प्रतिक्रिया दिदैं भने, ‘नेपाल माउण्ट एभरेष्टको देश, बुद्ध जन्मेको देश भनेर मात्रै होईन अब विश्वकै उच्च उचाईको गल्फ कोर्ष भएको देश भनेर समेत चिनिन्छ।’

उनको अनुभवमा हाईअल्टिच्युडमा आएर खेल्न पहिला होसियार बन्नुपर्छ। ‘मैले हाईअल्टिच्युडको औषधी खाँए। समस्या भएन। खुम्बु बेसक्याम्प पदयात्रा गएको थिए। त्यसले सहज भयो,’ उनको भनाई थियो, ‘हाईअल्टिच्युडमा आउँदा उमेर समूहले ध्यान भने दिनुपर्छ।’

पुरस्कार विजेता श्याम तामाङले यो यस्तो अवसर हो जुन चाहेर पनि पाउन नसकिने भन्दै आफैंमा अल्टिच्युड त्यसमा पनि उपाधि पाउनुले निकै उत्साहित बनाएको बताए। ‘मैले डेजर्ट एरिया सोचेको थिए। तर यहाँ आउँदा नेचुरल कोर्ष बनेको पाए। बेष्ट गल्फ कोर्षको रुपमा अनुभव गरे,’ उनको प्रतिक्रिया थियो,‘ग्रीन नेचुरल छ। अझै मेन्टेन गर्नुपर्छ। ९ होल पर्फेक्ट छ । थप ९ होल बन्यो भने संसारकै उत्कृष्ठ कोर्ष बन्छ।’

महिला तर्फकी विजेता सुष्मा सिंहले हाई अल्टिच्युडको अनुभवसँगै उपाधि जित्नु आफैंमा बेष्ट भएको प्रतिक्रिया दिईन्। उनले सोचेको भन्दा राम्रो कोर्ष बनेको बताईन्। नेपाल व्यवसायिक गल्फर संघका महासचिव दिपक आचार्यले मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)लाई विश्वकै उच्च उचाईको गल्फ कोर्षको लागि सिफारिस गरिने बताए। उनले सिफारिससँगै अनुमोदन भएको अवस्थामा साहसिक गल्फ पर्यटक भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे। ‘कोर्षलाई व्यवस्थित बनाई साहसिक गल्फ मार्फत पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास नेपाल गल्फ संघले लिएको छ,’ उनको भनाई थियो।

गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले आफुले हाईअल्टिच्युड गल्फ कोर्ष बनाउने सपना केहीहदसम्म पुरा भएको बताए। उनले सानो लगानीमा ठूलो उपलब्धीको रुपमा कोर्ष तयार भएको बताउँदै अब मुस्ताङलाई खेल पर्यटनको रुपमा विकास गर्नुपर्ने स्पष्ट पारे। ‘उपल्लो मुस्ताङलाई गल्फ खेल आफैंमा नौलो थियो। पहिलो खेलाडीको रुपमा आफु भएकोले पनि यसको प्रवद्र्धनमा ध्यान दिएको छु,’ उनको भनाई थियो।

उनकै एकल प्रयासमा यो गल्फ कोर्ष तयार भएको हो। संसद विकास कोषको बजेट मार्फत कोर्ष बनाउन लगानी गरेका थिए विष्टले। आफैंले दिनरात खटिएर कोर्ष बनाएपछि उच्च उचाईका गल्फ प्रतियोगिता गर्ने जमर्कोसँगै शनिबार त्यसलाई साकार बनाए। ‘पदयात्रा पर्यटन, साँस्कृतिक पर्यटन मात्रै होईन्। अब खेल पर्यटनको रुपमा अगाडि बढ्नुपर्छ,’ उनको भनाई थियो। प्रतियोगिताको लागि लोमान्थाङ गाँउपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको थियो। विभिन्न संघसंस्थाले प्रायोजन गरेका थिए। प्रतियोगितामा पोखरा,  बुटवल र काठमाडौं तथा एक विदेशीसहित ३६ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए।  nagariknews.com

Leave a Reply