म्याग्दीको ग्रामीण क्षेत्रमा संचालित श्री किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यास गर्नमा व्यस्त भएका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ वटा जिल्लाबाट आएका विद्यार्थीहरु अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरुमा बढी व्यस्त भएका हुन् ।

२०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्ष अघि २०७४ सालदेखि तीन वर्षे आइएस्सी (एजी) र २०७६ सालदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको यस शिक्षालयले विद्यार्थीहरुलाई किसानको खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक सिकाई गराउँदै आएको शिक्षालयका संयोजक करन कंडेलले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे,-‘हामीले विद्यार्थीहरुलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर दिनहुँ प्रयोगात्मक अभ्यास गराउँदै आएका छौं, यसोगर्दा विद्यार्थीहरुले धेरै कुरा सिक्ने, बुझ्ने र शिक्षालयमा फर्केपछि अध्ययन, अनुसन्धान गर्न थालेका छन्।’ उहाँका अनुसार अहिले शिक्षालयमा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ र म्याग्दी लगायतका १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् । जसमध्ये ९० छात्रा र ५१ छात्र रहेका छन् ।

२०६८ सालमा जिल्लामा नै पहिलो पटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले ११ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमा समेत उल्लेख्य सफलता प्राप्त गरेको छ । कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ ।

सुविधा सम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै आइएको शिक्षालयका संयोजक करन कंडेलले बताउनुभयाे । विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइदै आएको उहाँको भनाइ छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।

हाल शिक्षालयमा विभिन्न जिल्लाका १ सय ४१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कृषि डिप्लोमा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी १सय ४१ जना विद्यार्थीले कृषि र पशु सम्बन्धी शिक्षा लिइरहेका छन् । मासिक ५ हजार रुपैयाँमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ ।

गत साउन १६ गते कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पहिलो बेते भैँसीको पेटमा अड्किएको पाडो जीबित्तै बाहिर निकालेर भैँसीलाई सुत्केरी गराउन सफल भएका छन् । गत सोमबार स्थानीय भुपेन्द्र शर्माको पहिलो बेते भैँसीको पेटमा पाडो अड्किएपछि सुत्केरी हुन नसकेको भैँसीको पेटबाट डा. रोशन बानियाँ र डा. प्रशन्न पोख्रेलको सहयोगमा किसानी कृषि प्राविधिक शिक्षालयमा पशु विज्ञान विषयमा अध्ययनरत प्रशिक्षार्थीले भैँसीको पेटमा अडिकएको पाडो निकालेका हुन् ।

शिक्षालयले प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिएपछि आफूहरुले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको विद्यार्थीहरुले बताएका छन् । आइ एस सी (एजी) तेस्रो सेमेस्टरमा अध्ययनरत छात्रा राधिका जैसीले कक्षा कोठामा बसेर पढेको भन्दा किसानसँग खेतबारीमा नै पुगेर आफैँ संलग्न भएर काम गर्दै सिक्दै र उनीहरुलाई आफूले जानेको कुरा सिकाउँदा धेरै आनन्द आएको बताएकी छन् ।

Leave a Reply