महिला उद्यम विकास समिति म्याग्दीले हरितालिका तिज विशेष कार्यक्रम, खुल्ला मौलिक तिज गीत प्रतियोगीताको २०७९ को उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । सोमवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । तिज गीत प्रतियोगीता मंगलबार संचालन गर्ने गरि आज कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका उपप्रमुख लामिछानेले तिज नेपाली नारीहरुले दुख विर्साउने चाड भएको बताउनुभयो । तिजको धार्मिक महत्व तथा आफ्नै मौलिकता भएकाले यसलाई जोगाईराख्न आवश्यक भएको लामिछानेले बताउनुभयो।

उहाँले नगरपालिकाले उद्यमी महिलाहरु संग सहकार्य गरेर व्यवसायिक क्षमता अभिवृद्धि तथा नयाँ व्यवसायी उत्पादनका कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको बताउनुभयो । महिला दिदीबहिनीहरुको नाममा दर्ता भएका तथा संचालनमा नरहेका व्यवसायलाई पनि संचालनमा ल्याउन उहाँले आग्रह समेत गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले धार्मिक तथा सांस्कृतिक महत्वको तिज पर्वलाई तडकभडक गरि मनाउन नहुने बताउनुभयो । प्रजिअ रानाले पछिल्लो समय दरखाने निहूमा विभिन्न पार्टी प्यालेसहरुमा दिदी वहिनीहरु जमघट हुने, गरगहना तथा धन पैसा प्रस्तुत गर्ने जस्ता गतिविधि बढ्दै गएकाले मौलिकता विर्सिएर आधुनिकतालाई अंगाली सामाजिक सद्भावमा खलल पुग्ने गरि तिज मनाउन नहुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविर कुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले खस्किदै गएको व्यापार व्यवसायलाई माथी उकास्नका लागि व्यवसायीहरु सक्रिय हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, समितिका सल्लाहकार अमृतदेवी वानियाँ, मुल आमा समुहका अध्यक्ष भावना पौडेल, लायन्स क्लव अफ बेनी दोभानका अध्यक्ष कमला जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघका मानार्थ सदस्य नैन कुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तिलक भारती, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, संघका निवर्तमान अध्यक्ष एवम् बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्य, वडा नम्वर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिरे, वरिष्ठ उपाध्यक्ष धु्रव जिसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हालै श्रीमानको मृत्यु पश्चात ३ छोरी सहित आर्थिक अभावमा रहेकी म्यादीको रायखोर घर भई हाल बेनी निवासी कुमारी तामाङलाई तिजको दरखानलाई भनि नगद सहयोग समेत गरेको समितिका महासचिव जानकी विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित दिदीबहिनीहरुलाई दर समेत खवाईएको थियो । भदौ १४ गते (भोली) विहान ११ बजेदेखि जिल्ला समन्वय समितिको सभाहलमा खुल्ला मौलिक तिज गीत प्रतियोगिता संचालन गरिने महासचिव विश्वकर्माले बताउनुभयो । कार्यक्रममा सहभागी हुन तथा प्रतियोगितामा भाग लिन समेत समितिले अनुरोध गरेको छ ।

महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता तथा स्वागत र महासचिव विश्वकर्माको संचालनमा रहेको कार्यक्रमको समापन समितिका वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठले गर्नुभएको थियो । तिजको मौलिकतालाई संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ ।

Leave a Reply