म्याग्दीका किसानहरुले वर्षेबालीअन्तर्गत यसवर्ष लगाएको मकै बालीमा जङ्गली जनावरको आतङ्क बढेको छ । जिल्लाको विभिन्न स्थानीय तहका किसानहरुले आफ्नो खेतबारीमा लगाएको मकै बालीमा जङ्गली जनावरहरु आएर खाइदिने र नष्ट गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् ।

जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला र धवलागिरि गाउँपालिकाको विभिन्न वडामा जङ्गली जनावरले मकैबाली खाएर हैरान बनाएको किसानहरुले गुनासो गरेका छन् । म्याग्दीका किसानहरुले लगाएको मकै बालीमा खासगरी बाँदर, बँदेल, दुम्सी (सार), मृग, भालुलगायत जङ्गली जनावरको आतङ्क फैलिएको छ । घर तथा खेतबारी नजिकै बाक्लो र ठूलो जङ्गल भएकाले जङ्गली जनावरको आतङ्क बढ्दै जान थालेको हो ।

बेनी नगरपालिका–१, रत्नेचौरको आनन्दबगर क्षेत्रमा लगाइएको मकै बालीमा बाँदरको आतङ्क बढेको छ भने बेनपा–५, पुलाचौरको चिप्लेटी, गाजने, नयाँगाउँलगायत स्थानमा जङ्गली जनावर दुम्सी मकै बारीमा पसेर बाली सखाप पार्ने गरेको किसानहरु बताउँछन् । यसैगरी अन्नपूर्ण–६, घार र ७ नम्बर वडा हिस्तानसहित अन्य वडामा पनि जङ्गली जनावरहरु बाँदर, बँदेल, मृग र दुम्सीले मकै बालीमा क्षति पु¥याएको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाको नायव प्राविधिक सहायक सम्झना खत्रीले जानकारी दिनुभयो ।

अन्नपूर्ण–६, घारका किसान यामबहादुर खड्काले जङ्गली जनावर मृग (राते) र बाँदरले मकै खाएर किसानलाई हैरान बनाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाँदरसँग नसकिने भयो । बाँदरले मकै बालीमा ठूलो नोक्सान ग¥यो । बाँदर र मृगले धेरै दुःख दिएको हुँदा अधिकांश किसानहरुले गाउँमा मकै छर्न छोडिसके । हामीले पनि अर्को वर्षदेखि छोड्छौं ।’ ‘मृगले बारीमा लगाएको सागसब्जी, भटमास, बोडी, सिमी, गहुँ, जौ सबै खाएर हैरानी बनाएको छ ।

लगाएको चिज केही पनि हुन दिँदैन । रातको समयमा पनि आएर बाली खाने गरेर एकदमै हैरानी बनाएको छ । महङ्गो तिरेर खेताला खोजेर खेतीपाती लगायो आखिरमा आएर जङ्गली जनावरले खाइदिन्छ हामीले के गर्नु । मेरो १ रोपनीमा लगाएको मकै सबै बाँदर र मृगले खायो । वडा र पालिकाले हामी किसानलाई हेर्दैनन्’ उहाँले भन्नुभयो ।

त्यस्तै रघुगंगा गाउँपालिका–१, बेगखोलाको बाँदुकमा पनि मकै बालीमा बाँदरले दुःख दिएको छ भने पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको १ नम्बर वडा कुहुँ र ३, ४ बराङ्जामा बाँदरले मकै खाइदिएर किसानलाई हैरान बनाएको छ । उता धवलागिरि गाउँपालिका–३, मुनामा भने जङ्गली जनावर भालुले मकै खाएर सखाप पारेको भन्दै किसानले गुनासो गरेको धवलागिरि गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको अधिकांश स्थानमा खास गरेर जङ्गली जनावर बाँदर (हनुमान र सेतो) लङ्गुरको आतङ्क अत्यधिक रहेको छ । दिनरात मकै बालीमा बाँदर पसेर नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

बेनी नगरपालिका–५, चिप्लेटीका किसान भगवती कार्कीले दुम्सी आएर मकैबाली सबै नास पारेको गुनासो गर्दै भन्नुभयो, ‘राती १२ बजेसम्म बारीमा बसेर घर जान्छौं । अनि बिहान ४ बजे उठेर आउँदा दुम्सीले मकै खाएर गैसकेको हुन्छ ।’ धेरै पहिलेदेखि नै दुम्सीले मकै खाएर दुःख दिने गरेको उहाँले बताउनुभयो ।

‘घर तथा खेत बारीको वरिपरी वन धेरै फैलिएपछि दुम्सीले वर्षैपिच्छे मकै खाएर सताएको छ । बरु बाँदरले त्यति खाएको छैन, दुम्सीले मकै धेरै खाइदियो’ उहाँले भन्नुभयो । मकै बालीमा पसेको दुम्सी र बाँदरले मकै खानुका साथै भाँचेर नष्ट समेत गरिदिन्छ ।

मकै बालीलाई किसानहरुले खाद्यान्न बालीअन्तर्गत प्रमुख बालीको रुपमा लिने गर्दछन् । वन्यजन्तु जनावरलाई वनजङ्गल क्षेत्रमा नै पर्याप्त खानेकुरा तथा फलफुलको व्यवस्थापन गर्नसके खाद्यान्न बाली र मानव वस्तीमा नआउने डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो ।

जङ्गली जनावरलाई धपाउनेबाहेक अन्य उपाय नभएको हुँदा जिस्काउन, हान्न र मार्न पाइँदैन । हरेक वर्ष चैतदेखि जेठ महिनासम्म बारीमा मकै छर्ने गरिन्छ भने साउनदेखि असोजसम्म मकै बाली भिœयाउने गरिन्छ । जङ्गली जनावरले मकै बाली नष्ट गरेर किसानलाई दुःख दिएको भए पनि म्याग्दीका स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग भने किसानको माग सम्बोधन गर्ने त्यस्तो कुनै कार्यक्रम तथा बजेट नभएको जनाएका छन् ।

Leave a Reply