म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् ।

सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गर्भनरनेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए ।

“सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौँ”, उनले भने, “हरेक कामका लागि नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता हटाउन वडामै सेवालाई विकेन्द्रित पनि गरिएको छ ।”

यसअघि ठेली प्याड बनाएर हातले लेखेर रसिद दिने गरिएको थियो । सफ्टवयरमा विवरण प्रविष्ट गरेर रसिद काट्न थालिएको हो । वडा कार्यालयमा सफ्टवयरबाट राजस्व तिर्ने सुविधा भएपछि नगरपालिका धाउनु नपर्ने, नजिक हुने, अनियमितता, अपारदर्शीता हट्ने र सेवा प्रवाह छिटो भएको छ ।

जिल्लाको रघुगङ्गा गाउँपालिकालगायत देशका विभिन्न स्थानीय तहमा लागू भएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चुहावट नियन्त्रण, आम्दानी वृद्धि र पारदर्शीता कायम गर्न प्रभावकारी बनेको छ ।

यसैगरी योजनाको लगत तयार र विवरण प्रविष्ट गरेर सम्झौता गर्ने मिल्ने सफ्टवयर प्रयोगमा ल्याइएको छ । विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने अभ्यास थालेको छ ।

विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्न यसअघिकै वर्षदेखि थालिएको थियो । सेवाग्राहीको औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

नगरपालिका र वडाको सिफारिस, दर्ता र चलानीलाई अनलाइन प्रणालीमा आधारित बनाइएको छ । प्राविधिकलाई वडाबाटै काम गर्ने व्यवस्था मिलाएर रु पाँच लाखसम्म बजेट विनियोजन भएका योजना सम्झौता गर्ने अधिकार वडासचिवलाई दिइएको नगर प्रमुख सुरत केसीले बताए ।

बेनी नगरपालिकाको सवै वडा कार्यालयमा इन्टरनेट जडान भएको छ । विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन कम्प्युटर, प्रिन्टर, स्क्यानर र विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाइएको छ । वडासचिवहरुलाई गत हप्ता अनलाइन राजस्व सूचना प्रणालीका विषयमा तालिम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply