उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित पर्यटकीयस्थल घोरेपानीमा नेतृत्व विकास तथा उद्घोषणकला तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र घोरेपानी आमा समूहको सहआयोजनामा हिँजो (सोमबार)देखि तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले तालिमलाई भरपुर रुपमा उपयोग गरी सक्रिय सहभागिता जनाउन सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले तालिमले व्यक्तित्व र नेतृत्व विकासको साथै क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउँदै समुदायस्तरमा लैङ्गिक हिंसा न्युनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागतसहित तालिम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै अन्नपूर्ण गाउँपालिकाको सूचना प्रविधि अधिकृत रमेश थापाले तालिमपश्चात् सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । तालिमको सहजीकरण गर्दै प्रशिक्षक एवं अधिवक्ता सुष्मा पौडेलले व्यक्तित्व, नेतृत्व र क्षमता विकासका लागि उद्घोषण तथा भाषणकला तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।

तालिमको उद्घाटनसत्रमा इलाका प्रहरी कार्यालय घोरेपानीका प्रमुख बमबहादुर थापा, घारका वडा सदस्यद्वय चिनबहादुर पुन, पुष्पा बानियाँ बरुवाल, म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ र घोरेपानी टोल विकास समितिका अध्यक्ष वीरेन्द्र गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आगामी पाँच दिनसम्म चल्ने तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, उद्घोषण एवं भाषणकला, सकारात्मक सोच र क्षमता वृद्धिलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिने आयोजकले जनाएको छ । तालिमको उद्घाटनसत्र घोरेपानी आमा समूहका अध्यक्ष विष्णु पुनको अध्यक्षता र अन्नपूर्ण गाउँपालिकाको सहायक महिला विकास निरीक्षक सविना थापाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा आमा समूह, युवा क्लब, होटल व्यवसायीलगायत सहभागी रहेका छन् ।

Leave a Reply