माथिबाट पहिरो खसेर अवरुद्ध भएको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक मंगलबार दिउँसोदेखि सुचारु भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै कटिङ्ग गरी ढलान गरिएको सडकको माथिबाट ठूलो पहिरो खसेपछि ४ दिन अगाडीदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पन्छाइएको हो ।बेनी नगरपालिकाको समन्वयमा पूर्वाधार कार्यालय म्याग्दीले पहिरो पन्छाउनका लागि दुई वटा डोजर सहित जनशक्ती परिचालन गरेको थियो ।

बेनी–मालढुंगा सडक विस्तारको कारण अस्तब्यस्त भइरहेको अवस्थामा राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ समेत सिधा सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको थियो । पहिरो पन्छाइएपछि नियमित सवारीसाधन सञ्चालन भइरहेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । थप पहिरो खस्ने जोखिम भएकाले यात्राको क्रममा सतर्कता अपनाउन समेत मेयर केसीले अनुरोध गर्नुभएको छ ।

हाँडेभिरको उकालोमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो। बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते भएका थिए भने सवारीसाधनको सिसा फुट्ने क्रम नरोकिएपछि यात्रा गर्न जोखिम भएको थियो । पहिरोले बिजुलीको पोल समेत ढलेको छ । गत आवमा पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको थियो ।

Leave a Reply