म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’सकिएको छ । करीब तीन सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै सुरु भएको वर्खेनाच तिजको दिन आज भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई बध गरेसँगै अन्त्य भएको हो । बेनीबजार परिक्रमण गरी गणेश मन्दिरमा लाखेसँग भएको भीषण लडाइँमा भगवान् श्रीकृष्णले हत्या गरेको दृष्य हेर्नेको भिड रहेको थियो ।

लडाइँमा दानवको वध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिएको थियो ।मानवबस्तीको विस्तारसँगै देशका विभिन्न स्थानबाट बेनीमा नेवार समुदायआएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विर्सजन गरिएपछि बेनीमा वर्षे नाच सुरु भएको नेपाल भाषामंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । ‘राक्षसको रुपमा रहेको लाखेलाई भगवान श्रीकृष्णले बध गर्नुहुन्छ,‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ’ श्रेष्ठले भने ।

बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिएको छ । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ ।एक महीनासम्म विभिन्न नाच देखाएर परम्परागत संस्कृति र पौराणिक महत्वलाई प्रदर्शन गरिन्छ ।

ठूला–ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाँच बेनीको प्रशिद्ध नाच हो । हिन्दू धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइको अभिनय गरी यो नाच नाच्ने गरिन्छ ।

नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् ।  बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको यूवा ब्यवसायी सुविन श्रेष्ठले बताए । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन्। संस्कृतीनै लोप हुने अवस्था आउन नदिन युवाहरुले पनि बर्खे नाचका विभिन्न नृत्य सिकेर निरन्तरता दिएको हो ।

 

Leave a Reply