हरितालिका तिज पर्व २०७९ को पावन अवसरमा महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा सम्पन्न भएको खुल्ला मौलिक तिज गीत प्रतियोगीतामा सफल महिला बचत तथा क्रृण सहकारी संस्था पर्वत बेनीको समुह प्रथम भएको छ ।

मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा संचालित तिज गीत प्रतियोगीतामा ११ वटा समुहलाई पछि पार्दै सफल महिलाको समुहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा मंगला गाउँपालिका –१ हिरा वस्यालको समुह द्वितिय, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय म्याग्दीको समुह तृतिय र खिमा पूर्जाको समुह सान्तवना भएको समितिका महासचिव जानकी विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने समुहलाई पुरुस्कार स्वरुप क्रमश नगद रु १५ हजार, ८ हजार, ५ हजार रु २ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । विजेताहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविर कुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, महासचिव अमित वानियाँ महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्की, निवर्तमान सभापति सुनिता केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगी कलाकारहरुले तिजको मौलकता झल्किने गरि गीत प्रस्तुत गरेका थिए । माईती विहिन चेलीको वेदनाहरु गीतमा धरै नै गुञ्जिएका थिए भने महिला अधिकार, शसक्तिकरण तथा सवै खालका महिला हिंसाको अन्त्य गर्ने आवाजहरु गीतमा समावेश गरिएको थियो । कार्यक्रममा आमा समुह तथा बेनी बजार आसपासका महिला दिदीबहिनीहरुको भव्य उपस्थिति रहेको थियो । प्रतियोगी कलाकारले गीत प्रस्तुत गर्दै गर्दा कुनै बेला सहभागीहरु हल भरि नाचेको देखियो त कुनै गीतमा धेरै महिलाहरु आँशु बगाएर रोएको पनि ।

तिज मनाउने सन्दर्भमा पछिल्लो समय मौलिकता हराउँदै गएकाले अमूल्य परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नका लागि तिज गीत प्रतियोगीता सहित तिज विशेष कार्यक्रम आयोजना गरिएको महिला उद्यम विकास समिति म्याग्दीका सभापति लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो ।

प्रतियोगिताको निर्णायक समितिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका वरिष्ठ उपाध्यक्ष धु्रब जिसी, प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य नकुल ढकाल र प्रतिष्ठान म्याग्दीकी कोषाध्यक्ष देवी जिसी रहनुभएको थियो । त्यस्तै संगीतकर्मी अमित विश्वकर्मा, दिनेश पुन र सुरेन्द्र पुनले बाध्यवादनको भूमिका निभाउनुभएको थियो । समितिका महासचिव जानकी विश्वकर्माको संचालनमा प्रतियोगीता सम्पन्न भएको थियो ।

यसैगरि कार्यक्रममा समितिले संचालन गरेको भाग्यशाली चिठा खोलिएको थियो । चिठामा अन्नपूर्ण गाउँपालिका हाल पर्वत बौर निवासी खिमा पूर्जाले प्रथम पुरस्कार स्वरुप ३२ ईन्चको एलइडि टिभि प्राप्त गर्नुभएको छ । त्यस्तै पुजा श्रेष्ठले दोस्रो पुरस्कार स्वरुप सिल्भर अटो ग्याँस चुलो र नतिजा शर्माले तेस्रो पुरस्कार स्वरुप मोवाईल सेट जित्नुभएको समितिको वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठले जानकारी दिनुभयो ।

    

Leave a Reply