तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा कलिलै उमेरमा होमिएका बेनी नगरपालिका–२, ज्यामरुककोटका दिपेन्द्र परियाको साथका हातहतियार हुन्थ्यो।

सामान्य बम, ग्रिनेड, पेस्तोल, थ्री नट थ्री र एसएलआरका लगायतका हतियारसँग करिब आधादशक यूद्धमा विताएका परियारले माओवादीले गरेका नौ ओटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यवल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण र पाल्पाको तानसेन बजार भिडन्तमा समेत सहभागी भए ।

विक्रम संवत् २०५२ फागुन १ गतेबाट सुरू भएको युद्धलाई समर्थन गदैं ०५९ सालमा जनसेनामा भर्ती भएका परियार करिब एकदर्जन साना–ठूला भिडन्तमा मृत्युसँग पैँठेजोरी गरेको अनुभव छ ।

समाज र राज्य परिवर्तन गर्ने सकिन विश्वाससहित ‘मर्न र मार्न’तयार भएका परियार शान्तिप्रक्रिया पछि परिवारको हातमुख जोड्न समेत धौ–धौ भएपछि खाडी मुलुक साउदी अरवमा ५ बर्ष विताएर फर्किए।

यूद्ध र खाडीको अनुभवपछि परियारले अहिले आफ्नो पूरानो सीप प्रयोग गरी समाजमा संघर्ष गरिरहेका छन् । खाडीबाट फर्किएपछि दुई छाकको जोहो गर्न पुख्यौली पेशा निरन्तरता दिँदै हातमा सहनाई समातेर नौमती र पञ्चेबाजामा ब्यस्त छन् ।

गोली बारूद खेलाएको विगतलाई बिर्सिदै अहिले पञ्चे र नौमती बाजाको मुख्य भुमिकामा रहेको सहनाई कमाईको माध्यम बनाएका छन् । ८ बर्षकै कलिलो उमेरमा सहनाई सिकेका परियारले परिवारकोगुजरा चलाउन पूरानै सीप आवश्यक भएको महसुस गरेर गाउँदेखि सहर बजारमा हुने ब्यक्तिगत तथा सार्वजनिक कार्यक्रममा आफ्नै नेतृत्वमा पुग्छन् ।

परियारले सहनाइमा भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाउने विवाह सहितका समारोहमा नाच्नेको भिड लाग्छ ।‘यूद्धबाट फर्किएपछि मैले गरेका सबै संघर्षहरूभन्दा यो पेशाले सन्तुष्टी मिलेको छ,‘अब पुख्यौली पेशालाई नै निरन्तरता दिन्छु’ परियारले भने ।

यूद्धमा बन्दुक, खाडीमा फलाम समातेको हातले अहिले देशका विभिन्न जिल्लामा पुगेर प्रशिक्षण समेत दिने गरेको परियारले बताए । उनले कोहलपूर, चितवन, कास्की लगायतका जिल्लामा समेत पुगेर एक महिनासम्म प्रशिक्षण दिएका छन् । उनले प्रशिक्षकको रुपमा न्यूनतम ३० हजारदेखि ६० हजारसम्म लिएको बताए । ज्यामरुककोट नौमति बाजा समुहमार्फत उनले स्थानीयस्तरमा समेत तालिम दिने गरेका छन् ।

परियारको मुख्य भूमिका सहनाई भएपनि कर्नल सहित नौमति र पञ्चे बाजामा रहेका सबै बाजा बजाउने गरेका छन् ।परियारलाई रघुगंगा गाउँपालिका वडा नं २ का आशिष परियार र बेनी नगरपालिका–५ खोरगैराका रामजी परियारले ट्याम्को बनाएर साथ दिने गरेका छन् ।

म्याग्दीमा तीनै जना एउटै समुहमा राखेर बोलाउने गरिन्छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का आशिष परियारले ढलकी बाजामा फरक स्वाद दिने गर्छन् । उनी पुग्ने हरेक कार्यक्रम, विवाह लगायतका समारोहमा आफुँले ढलकी मात्रै बजाउँदैनन् नाच्दै अरूलाई पनि नचाउँछन् ।

Leave a Reply